19th October | 2019 | Saturday | 8:14:08 PM

सिमली छायांमा बसी..

चिसाङ शेर्पा   POSTED ON : आश्विन १३, २०७६ (१०:०५ AM)

सिमली छायांमा बसी..

खोटाङ । स्टेजमा जब जनगायक जीवन शर्माले ‘सिमली छायांमा बसी भरिया लामो सास फेरेको’ भनेर मर्मस्पर्शी गीत गाउन थाले दर्शकदीर्घामा बसेका अतिथि तथा अन्य मानिस जुरुक्क उठेर ताली बजाउँदै नाचे । बाग्लुङगे ठिटोले कलेज पढ्ने समयमा स्याङ्जामा भेटिएका खोटाङका एक भरियालाई देखेर एकैपटकमा सिर्जना गरेको गीत दिल खोलेर गाए । उपस्थित अधिकांश नाचेर साथ दिएका थिए ।

प्रगतिशील लेखक संघ खोटाङले आइतबार आयोजना गरेको सांस्कृतिक र साहित्यिक कार्यक्रममा गायक शर्माले सिमली छायांमा बसी.. गाउँदा अन्य गीतमा भन्दा वातावरण फरक देखियो । समीक्षालय हलमा भएको उनको प्रस्तुतिमा नाचसँगै तालीको पर्रा छुट्योे । जनवादी गीत गाएर नै चर्चामा आएका उनले दुई चरणमा जनवादी गीतबाट चेतना तथा भरपुर मनोरञ्जन दिलाए । ‘म निर्धाको गाथा बोकेर, सागर भेट्न जाँदैछ नदी, आधी रातमा हुरी चल्दा’ पहिलो चरणमा प्रस्तुत गरे । उनको गीतसँगै बीचबीचमा कविता, गजल वाचनले कार्यक्रम झन् रोचक बन्यो ।

दोस्रो चरणमा जनगायक शर्माले हामी सबै नेपाली, परदेशी तिमी फर्की आउँ, फोक्लिनको टापुबाट, आकाशैमा बादल छैन, चाहिँदैन मलाई सिसाको महल, छेकेर छेकिन्न, रोकेर रोकिँदैन र अन्त्यमा सबैको रोजाइ र खोजाइको ‘सिमली छायांमा’ प्रस्तुत गरे । जिल्लामा भएको सांस्कृतिक कार्यक्रमबाट सधैजसो विशुद्ध मनोरञ्जनमात्रै लिँदै आएकाले यसपटक भने, मजाले गीत सुन्न र नाँच्न पाएको प्रलेसका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओमप्रकाश घिमिरेले बताए । 

प्रलेसका अध्यक्ष चित्रकुमार सुवेदीले कविता वाचन गरेर अध्यक्षता ग्रहण गरेको कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष हेमविक्रम राईको दुई जनवादी गीत प्रस्तुति पछि शर्माको प्रस्तुतीसँगै डिल्ली नाकारा, बम बानियाँ, एमसी सुमित, अमर श्रेष्ठ, प्रमोद श्रेष्ठ, धनीराम राई, घनश्याम ढकाल, मौसम आचार्य, सविता भुजेल, रोशनकिशोर राई, वेदीकुमार राई, जीवन ज्वालाले कविता तथा गजल वाचन गरे । 

सिमली छायांमा बसी गीतबाट चर्चा कमाएका शर्मालाई प्रलेसले दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरे । शर्माकोे सिमली छायांमा बसी २०४६ सालको अन्त्यतिर रेकर्ड भएको गीत हो । विस २०१६ चैत २६ गते बाग्लुङमा जन्मिएका शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अंग्रेजी र मानवशास्त्रमा डबल एमए गरेर पनि सर्वहारा गायक बनेका हुन् । 


Views: 100