19th November | 2019 | Tuesday | 2:38:43 PM

तनावको औषधि : ‘छ माया छपक्कै’

सुधीर नेपाल   POSTED ON : कार्तिक २, २०७६ (१०:०६ AM)

तनावको औषधि : ‘छ माया छपक्कै’

संयोगले निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ हेर्न परिवारका साथ सिटी सेन्टर कमलपोखरी पुगियो । सञ्चारकर्मी लामा आफँैमा एक चलायमान युवक हुन् । नेपाली चलचित्रको नसानसा चेक गर्ने डाक्टरको उपाधि पाएका लामाको चलचित्र समीक्षा गर्ने तरिका निकै दरिलो थियो । वजनदार र मार्मिक शब्दको प्रयोगले गर्दा उनको समीक्षाले बजार तताएको हुन्थ्यो भने उता निर्माता निर्देशकको हावा फुस्किसकेको हुन्थ्यो । 

कडा समीक्षकको रूपमा नाम कमाएका लामा अहिले आफैँ चलचित्र निर्देशक तथा लेखक बनिसकेका छन् । कुन दर्शकले कस्तो रुचाउँछन्, कस्तो मसला दिँदा दर्शकको ध्यान आफूतिर तान्न सकिन्छ यो लामालाई सिकाउनुपर्ने विषय होइन । यी विषयहरूबाट निकै नजिक भइसकेका लामाको यो चलचित्र दोस्रो निर्देशन हो । पहिलो चलचित्र ‘घामपानी’ बाट नेपाली चलचित्रमा डेब्यू गरेका लामाले दोस्रो चलचित्रमा आफूलाई खार्ने मौका राम्ररी पाएका छन् । 

‘छ माया छपक्कै’ राजनीतिक, पारिवारिक र पानीकेन्द्रित चलचित्रको संयोग हो । चलचित्रमा देखाइएको विषयवस्तु पुरानै कथाकोे शृंखला भए पनि यसमा देखाइएका संरचनाहरूले यसको पुरानोपनलाई छोपेका छन् । चलचित्र भनेको एकछिन हेर्नका लागि मात्र हो भन्ने परिभाषा गर्न थालेका नेपाली दर्शकका लागि ‘छ माया छपक्कै’ ले शिक्षा प्रदान गर्ने कुनै निश्चित बाटो भने समातेको छैन । 

समग्र चलचित्र पानीको राजनीतिमा केन्द्रित भए पनि बीचमा देखिने मातृŒवले चलचित्रको कथालाई भावनाको सुगन्ध छर्ने काम गरेको छ । नेपाली कमेडियनहरूलाई समेटेर निर्देशनमा जुटेका लामालाई चलचित्र बनाउन त्यति असहज भएजस्तो लाग्दैन । साधारण कथालाई एउटा विषयसँग जोडेर लामाले चलचित्रको निर्देशन गरेका छन् । 

मुुख्यतया राजधानीदेखि निकै टाढा सुदूरपश्चिममा रहेको एउटा गाउँमा परेको पानीको समस्यालाई लिएर चलचित्रको निर्देशन गरेका छन् । त्यही पानीको समस्यालाई लिएर यहाँका राजनीतिक दलले पानीलाई आफ्नो राजनीतिको मुख्य केन्द्रबिन्दु बनाएका छन् । पहिलो निर्वाचनदेखि पानीको मुद्दाबारे लड्दै आएका राजनीतिक दलका मुख्य नेताहरूले यो निर्वाचनमा पनि पानीको मुद्दालाई चर्काउने मेसो गरे पनि यसलापालि आफूहरू नझुक्किने भन्दै पानीको समस्यालाई जनता आफैँले सल्टाएको कुरा नै चलचित्रमा पहिलो र अन्तिम निष्कर्षमा रहेको छ । 

कथालाई खासै मार्मिक ढंगले प्रस्तुत नगरिए पनि चलचित्र राम्रै छ । तनावले ग्रस्त भएका व्यक्तिको लागि ‘छ माया छपक्कै’ औषधि बन्न सक्छ । 


Views: 210

सम्बन्धित सामग्री:

अनमोललाई छैन डर

हिमालय टाइम्स : मंसिर २, २०७६ (९:५८ AM)