19th November | 2019 | Tuesday | 12:48:53 PM

नायक–खलनायक भिडाउने हिमाल

गोपिकृष्ण चापागाईं   POSTED ON : कार्तिक ३, २०७६ (४:१४ PM)

नायक–खलनायक भिडाउने हिमाल

काठमाडौं । साधारणतया दर्शकले चलचित्र हेर्दा नायक र खलनायकको भिडन्त भएन भने मज्जा मान्दैनन् । जब फाइट (द्वन्द्व) को दृश्य आउँछ त्यो समयमा दर्शकको चासो बढी हुन्छ । त्यो द्वन्द्वका लागि पर्दा पछाडि रहेर गरिने काम भने दर्शकलाई थाहा हुँदैन । 

चलचित्र निर्माणको क्रममा द्वन्द्व निर्देशनको पनि ठूलो भूमिका हुन्छ । चलचित्रका निर्देशकले दिएको थिममा द्वन्द्व निर्देशकले तयार गर्ने स्क्रिष्ट मजबुत भएन भने चलचित्रको द्वन्द्वको पाटो खल्लो हुन जान्छ । 

नेपाली चलचित्रमा एक समय थियो चलचित्रमा नायक र खलनायकको भिडन्त हुनै पर्ने । कुनै विषयमा नायक र खलनायकको भिडन्त गराइएकै हुन्थ्यो । दशक अगाडिदेखि चलचित्रमा भिडन्त गराउन निकै व्यस्त हुने द्वन्द्व निर्देशक हुन् हिमालबहादुर केसी । विसं २०६४ सालमा नेपाली चलचित्र ‘मर्यादा’ बाट द्वन्द्व निर्देशनको पाटो सम्हालेर अगाडि बढेका हिमालले अहिलेसम्म थुप्रै चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका छन् । 

अहिले नेपालमा निर्माण हुने चलचित्रहरूमा करिब ७० प्रतिशत चलचित्रमा उनले नै द्वन्द्व निर्देशन गरेको पाइन्छ । द्वन्द्व निर्देशनमा निकै अब्बल मानिएका हिमालले ‘ए मेरो हजुर, यात्रा, नाई नभन्नु ल, धुम ३, के म तिम्रो होइन र, मौसम, हाँसिदेऊ एकफेर, फैसला, राम बलराम, कवज’ जस्ता चर्चित दर्जनौं चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । 

१६ वर्षको उमेरबाट नेपाली चलचित्रको क्षेत्रमा लागेका हिमालले सुरुवातका दिनहरूमा चर्चित द्वन्द्व निर्देशक एनबि महर्जनसँग काम सिक्ने मौका पाए । महर्जनलाई आफ्नो गुरु मान्ने हिमाल अहिले गुरुभन्दा बढी ब्यस्त हुन थालेका छन् । हिमालले नेपालमा द्वन्द्व निर्देशन गर्दाका जोखिम र अप्ठ्याराहरूको विषयमा पनि बोल्दै आएका छन् । 

नेपालमा प्रयाप्त सामग्री नहुँदा आफूले सोचे अनुरूपको दृश्य चलचित्रमा देखाउन नसकिने बताउँछन् । ‘हाम्रो देशमा विदेशी चलचित्रमा प्रयोग गरिने जस्तो सामाग्री छैन त्यसैले पनि सोचेअनुरूपको द्वन्द्व देखाउन सक्दैनौं । यस्तै निर्माताको बजेटभित्र बसेर काम गर्नुपर्छ, त्यसैले पनि लचकदार बन्नु जरुरी छ’, हिमालले हिमालय टाइम्ससँग भने, ‘नेपालमा विशेषगरी दुई कुरा लोकेसन र मेटेरियलको समस्या छ ।’

द्वन्द्व निर्देशन चलचित्र निर्देशकको थिममा आधारित भई गर्नुपर्ने हिमाल बताउँछन् । ‘चलचित्रको निर्देशकको एउटा थिम हुन्छ । त्यसभित्र बसेर द्वन्द्व निर्देशन गर्नुपर्छ । निर्देशकले सुरुवात र अन्त्यको कन्सेप्ट हामीलाई दिन्छन् त्यही अनुरूप द्वन्द्व निर्देशन गर्ने हो ।’ हिमालले हाम्रो जिज्ञासालाई प्रष्ट पारे । यस्तै उनले पछिल्लो समय नेपालमा चलचित्र सुटिङ स्टुडियो बन्न लागेकोमा खुशी व्यस्त गरे । 

सरकारी क्षेत्र र निजिक्षेत्रबाट सुटिङ स्टुडियो बन्ने कुरालाई स्वागत गर्दै उनी भन्छन् ‘नेपालमा द्वन्द्व निर्देशन गर्दा प्राकृतिक ठाउँमै गर्नुपर्ने अवस्था छ । कतिपय सोचेका कुरा भेटिँदैनन्, यदि स्टुडियो भयो भने सोचेअनुरूप तयार पार्न सकिन्छ’, उनी भन्छन्, ‘नेपालमा पनि ठूलो लगानीमा फिल्म सुटिङ स्टुडियो बन्ने कुरा सुन्दा खुशी लागेको छ ।’

हिमालले वर्षेनी आयोजना हुने फिल्मी अवार्डहरू प्रायः हात पारेकै हुन्छन् । हालसम्म उनले द्वन्द्व निर्देशककै विधामा दर्जनौं अवार्ड हात पारिसकेका छन् । उनले विसं २०६६ सालमा चलचित्र ‘हाँसिदेऊ एकफेर’बाट राष्ट्रिय अवार्ड पाएका थिए । यस्तै २०६५ सालमा चलचित्र ‘राम बलराम’बाट नेफ्टा अवार्ड पनि पाएका थिए । भने २०७२ सालमा चलचित्र ‘भैरब’ चलचित्रबाट फान अवार्ड पाएका थिए । 

यस्तै २०७३ सालमा मात्रै उनले ६ वटा अवार्ड (नेफ्टा अवार्ड, कामना फिल्म फेयर अवार्ड, एलजी सिने अवार्ड, डि सिने अवार्ड, ईनास फिल्म अवार्ड, एनएफडिसी फिल्म फेयर अवार्ड) प्राप्त गरेका थिए । जसमा सबै अवार्ड एक्शन चलचित्र ‘भैरब’बाटै पाएका थिए ।

हिमालले पछिल्लो समय प्रदर्शनमा आएको पिंजडा ब्याक अगेन चलचित्र निर्देशनसमेत गरेका थिए । जुन चलचित्र व्यावसाहिक हिसाबमा राम्रो हुन नसकेपछि मेकिङको हिसाबमा तारिफ पाएका थियो । 


Views: 99

सम्बन्धित सामग्री:

अनमोललाई छैन डर

हिमालय टाइम्स : मंसिर २, २०७६ (९:५८ AM)