18th January | 2020 | Saturday | 3:41:27 AM

फेस्टिबलमा १२ देशका २५ फिल्म

हिमालय टाइम्स   POSTED ON : कार्तिक १५, २०७६ (१०:२६ AM)

फेस्टिबलमा १२ देशका २५ फिल्म

काठमाडौं । आठौं संस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ १६ कात्तिक शनिबारबाट तीन दिनसम्म काठमाडौंको जमलस्थित नाचघरमा आयोजना हुने भएको छ । आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले बिहीबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै महोत्सवको तयारी पूरा भएको जनाएको छ । नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदानप्रदानका लागि हरेक वर्ष आयोजना गर्दै आएको छ । 

‘हामीले जहिले पनि पश्चिमाहरूको मिडियाबाट उनीहरूको अवधारणअनुसार अफ्रिकालाई हेर्दै आएका छौं । हामीले हाम्रो लेन्सबाट अफ्रिकालाई हेरेर आपसमा सांस्कृतिक आदानप्रदान गर्नुपछि भनेर ८ वर्षअघिबाट यो महोत्सव सुरु गरेका हौं ।’ महोत्सव अध्यक्ष एवं कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले पत्रकार भेटघाटमा बताइन् । अफ्रिका पनि विभिन्न कुरामा सम्पन्न छ भन्ने कुरा महोत्सवमा सहभागी चलचित्रहरूले प्रस्ट्याउने पनि उनले बताइन् । 

महोत्सवमा अतिथिहरूको आगमन सुरु भइसकेको छ । फ्रान्सबाट महोत्सवमा सहभागी हुन आएका चलचित्र निर्देशक, सिनेमाटोग्राफर फरिद डेभिसले पत्रकार भेटघाटमा बोल्दै आफू नेपालमा पहिलोपटक आएको र नेपाल अफ्रिका फिल्म फेष्टिबलमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । 

मिश्रले अफ्रिका गरेर महोत्सवका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, वृत्तचित्र एवं कार्टुन फिल्म चयन गरिएको बताइन् । जसमा नेपालबाट १३ वटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष डा. मिश्रले जानकारी गराएकी गराइन् । 

महोत्सव अध्यक्ष मिश्रका अनुसार नेपाल र यसपटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सवमा नेपालसहित १२ देशका फिल्महरू प्रदर्शन गरिने भएको छ ।

यस पटकको महोत्सवमा अफ्रिकाको क्रान्ति, इतिहासको गाथा, त्यहाँको जीवनशैली, संघर्षको कथायुक्त फिल्महरू छन् । महोत्सवमा नेपालबाट सुम सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, सुनिल पाण्डे निर्देशित अनन्त यात्रा, निमबहादुर बस्नेत निर्देशित हलो, अनुरुध्र आत्रेय निर्देशित अर्ध लिखित, गणेशजँग रावल निर्देशित भोक, आशिष भण्डारी निर्देशित पेन्सिल, महेश दाहाल निर्देशित रिभर्स, महेश्वर साम्बाहाम्फे निर्देशित नाम्लो, भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह र नेपाल पर्यटन बोर्डको नेपाल ल्याण्ड आफ डाइभर्सिटी रहेको छ । 

चलचित्र महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । १६ गते बिहान १०ः३० बजे उद्घाटन हुने यो महोत्सव तीन दिनसम्म नियमित चलचित्र प्रदर्शन गरेर १८ कात्तिकमा समापन हुनेछ । महोत्सवमा यसपटक ६ जना सिनेकर्मी अफ्रिका फ्रान्स र अन्य मुलुकबाट आउने पनि महोत्सव निर्देशक क्षत्रीले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । 


Views: 58