19th January | 2020 | Sunday | 11:52:59 PM

‘सेन्टी भाइरस’ पोष्टरमा एक्लो धुर्मुस

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:२५ AM)

‘सेन्टी भाइरस’ पोष्टरमा एक्लो धुर्मुस

काठमाडौं । पछिल्लो केही वर्षयता कलाकारितासँगै सामाजिक सेवा गरेर नाम कमाएका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को मुख्य भूमिका चलचित्र ‘सेन्टी भाइरस’को पोष्टर सार्वजनिक गरिएको छ । 

चलचित्रको पोष्टरसँगै प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र अब आउँदो फागुन ९ गतेबाट प्रदर्शन हुने बताइएको छ । पछिल्लो चार वर्षयता टेलिभिजनको पर्दामा नदेखिएका धुर्मुस सुन्तली चलचित्रको पर्दामार्फत दर्शकसामु आउने तयारीमा छन् ।

सार्वजनिक पोष्टरमा कलाकार सीतारामलई फिचर्ड गरिएको छ । पोष्टरमा सीताराम ढाकाटोपीमा सजिएका छन् । पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति तय गरिएको हो । रामबाबु गुरुङको निर्देशनमा तयार भएको सो चलचित्रमा कुञ्जना–सीतारामको जोडीको रूपमा रहने भन्ने धेरैले आँकलन गरेका छन् तर सार्वजनिक पोष्टरमा कुञ्जना नअटेको देख्दा कतै यो जोडी पर्दामा जोडीको रूपमा देखिँदैनन् कि भन्ने आँकलन पनि गर्न सकिन्छ ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, विल्सनविक्रम राईलगायत कलाकारको मुख्य भूमिका छ । निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन छ भने चलचित्र शैलेन्द्र डी कार्कीले खिचेका हुन् । 

चलचित्रमा लगानी भने डिन्डु लामा हृयोल्मोले गरेका छन् । नेपालबाहिर बस्दै आएका डिन्डुले धुर्मुस सुन्तलीका हरेक प्रोजेक्टमा सहयोग गर्दै आएका थिए । आफूहरूले चलचित्र निर्माण गर्ने भन्दै गर्दा डिन्डुले लगानी गर्छु भनेपछि डिन्डुलाई नै निर्माता बनाएको धुर्मुसको भनाइ छ ।


Views: 94