18th November | 2019 | Monday | 9:34:14 PM

हेमराजलाई ज्यान मार्ने धम्की

हिमालय टाइम्स   POSTED ON : कार्तिक २१, २०७६ (३:५० PM)

हेमराजलाई ज्यान मार्ने धम्की

काठमाडौं । चलचित्र ‘घामड शेरे’ ले अहिले विवाद खेप्नुपरेको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको  यो चलचित्रमा निश्चलले निर्वाह गरेको पात्र (शेरे) को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्मले विवाद झेलिरहेको हो । 

सामाजिक सञ्जालमा फिल्मको पोष्टर र नेता देउवाको फोटो जोडेर बनेका ट्रोल केही दिनयता निकै भाइरल भएका छन् । यसले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै कांग्रेसको भ्रातृ संगठन नेविसंघले सुदूरपश्चिममा चलचित्र प्रदर्शन नै गर्न नदिने घोषणा गरेको छ । त्यस्तै, निर्माण टिमलाई सामाजिक सञ्जालमा विभिन्न खाले धम्की पनि आएको छ । फिल्मका निर्देशक हेमराज विसीले केही दिनदेखि आफूलाई फेसबुकमा ज्यान मार्ने धम्की आइरहेको बताए । 

बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै चलचित्रको पोष्टरसँग कांग्रेस नेता शेरबहादुर देउवाको फोटो जोडेर सामाजिक सञ्जालमा भइरहेको ट्रोलमा चलचित्रका कलाकार, निर्देशक, निर्माता र प्राविधिक कसैको पनि संलग्नता र समर्थन नभएको निर्देशक विसीले जारी गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘फिल्मको प्रमुख पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैली राजनीतिक प्रकृतिको छैन ।’

चलचित्रको नामलाई जोडेर सामाजिक सञ्जालमा भएको ट्रोलका कारण कांग्रेस नेता शेरबहादुर देउवाको व्यक्तित्वमा पर्न गएको असर र असुविधाप्रति निर्माण कम्पनी ‘विसी मोसन पिक्चर’ ले क्षमा पनि मागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस प्रकारको ट्रोल नगर्न र बनाउन पनि विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । निर्देशक विसीले बिहीबार गरिन लागेको प्रिमियरमा कांग्रेस नेतालाई फिल्म हेर्नका लागि बोलाउने प्रतिबद्धता जनाएका छन् ।  

‘दुई रुपैयाँ’ फेम्ड अभिनेता आसिफ शाहले ‘घामड शेरे’ को पोष्टरसँग नेता देउवाको फोटो जोडिएको ट्रोल आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेपछि विवादले उग्र रूप लिएको हो । 


 


Views: 66