18th November | 2019 | Monday | 11:23:43 PM

अरुन्धतीमा तर्साउने भूमिकामा दीपिका

एजेन्सी   POSTED ON : कार्तिक २२, २०७६ (९:५३ AM)

अरुन्धतीमा तर्साउने भूमिकामा दीपिका

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्रको नयाँनयाँ भूमिकामा काम गर्न रुचाउँछिन् । उनले अन्तर्वार्तामा भन्दै पनि आएकी छिन् कि चलचित्रमा फरक भूमिका गर्न कलाकारहरूको इच्छा हुन्छ । त्यसैले होला पछिल्लो समय केही फरक भूमिका पनि देखाउँदै आएकी छन् ।

एसिड पीडितको चरित्रमा भर्खरै सुटिङ सकिएको चलचित्र ‘छपाक’ बाट उनले चर्चा बटुल्न थालेकी छिन् । उनको कामप्रति चलचित्र मेकर खुसी छन् । ‘छपाक’ मा एसिड प्रहारबाट मुहार विरूप भएको यथार्थ संघर्ष–कथाको चरित्र निर्वाह गरेकी छन् । यसबाट यो चलचित्रमा दीपिकाको वाहृय सौन्दर्य देख्न नपाइने अनुमान सहजै गर्न सकिन्छ । अर्थात् अर्को शब्दमा फिल्म ‘छपाक’ मा उनको ‘ग्ल्यामरस अवतार’ हुने छैन ।

‘पदमावत्’, ‘बाजीराव मस्तानी’, ‘गोलियों कि रासलीला’लगायत कैयौं चलचित्रमा आफ्नो सौन्दर्य र अभिनयको जलवा देखाउँदै आएकी दीपिका यतिबेला भने ‘छपाक’ बाट पनि अघि बढेर भूतप्रेततर्फ लागेकी छिन् । उनी अब ‘ग्ल्यामरस अवतार’ को साटो चलचित्र ‘अरुन्धती’ मा दर्शक तर्साउने भूतप्रेतको अवतारमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हरर जनराको यो चलचित्रमा दीपिकाले शीर्ष चरित्रमात्र निर्वाह गर्न लागेकी नभएर आफैंले निर्माणसमेत गर्न लागेको बताइएको छ । चलचित्रमा अन्य कलाकारको नाम भने घोषणा गरिएको छैन ।

खासमा दीपिकाले १० वर्षअघिको तेलगु चलचित्र ‘अरुन्धती’ को हिन्दीमा रिमेक गर्न लागेकी हुन् । तेलगु चलचित्रमा भने सन् २०१५ को सुपरहिट चलचित्र ‘बाहुबली’ मा देवसेनाको भूमिकामा प्राण भरेकी अनुष्का शेट्टीको अभिनय रहेको थियो । 


Views: 76