13th December | 2019 | Friday | 4:51:29 PM

निर्माता बने दयाहाङ

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:३६ AM)

निर्माता बने दयाहाङ

काठमाडौं । नेपाली चलचित्रको पर्दामा रुचाइएका अभिनेता दयाहाङ राई निर्माता बनेका छन् । चलचित्रमा काम गरेबापत पारिश्रमिक बुझ्दै आएका दयाहाङले अहिले अन्य कलाकारलाई पारिश्रमिक दिएका छन् । अर्थात् निर्माता बन्दाको अनुभव बटुलिरहेका छन् ।

यही मंसिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माछा माछा’मा दयाहाङले केही प्रतिशत लगानी गरेका छन् । चलचित्रमा दयाहाङसँगै रामबाबु गुरुङको पनि लगानी छ । ‘यही चलचित्र क्षेत्रमा काम गरिरहँदा चलचित्र प्रोडक्सनमा पनि आउँछु भनेको थिएँ, त्यसैले लगानीतिर लागेको हूँ’, दयाहाङले हिमालय टाइम्ससँग भने, ‘यो चलचित्रबाट करोडौं कमाउँछौं भन्ने लागेको पनि छैन, एउटा राम्रो अनुभव पक्कै हुनेछ ।’ उनले साथीभाइ मिलेर चलचित्र बनाउने सोच केही समयअघि भए पनि माछामाछाको टिमले पूरा गरेको बताउँछन् । ‘मलाई एकजना निर्देशक साथीले चलचित्रको कथा सुनाउनुभयो र यो यो कलाकारलाई यो भूमिका सुहाउँछ भनेर सौगात मल्ललगायत कलाकार चाहिन्छ भन्नुभयो अनि हामी मिलेरै लगानी गरौं भन्ने भयो र लगानी गरियो । ठूलो योजना पनि थिएन’, दयाहाङले भने ।

उनले चलचित्रमा आफूले अभिनय नगर्नुको कारण चलचित्रको भूमिका आफूलाई ‘फिट’ नहुने बताउँछन् । उनी भन्छन्, ‘एक कलाकार चलचित्रको भूमिकाका लागि लोभी त हुन्छ तर भूमिका आफूलाई सुट नहुने भएपछि त्यति धेरै लोभी भइन ।’ यसपटक माछामाछा चलचित्रका लागि निर्मातामात्र भएका दयाहाङले चलचित्रबाट ठूलो आम्दानीको आश नगरेको बताउँछन् । 

उनले एक टिम वर्क देखिने र सकारात्मक सन्देश दिने तरिकाले पनि चलचित्रमा लगानी गरेको बताउँछन् । ‘मलाई निर्देशकको आइडिया कन्सेप्ट मनप¥यो । टिमवर्क गरौं भनेपछि गरेको हुँ । हामीले लगानीलाई कसरी सुरक्षित गर्ने भन्ने केही रणनीति अपनाएका छौं । त्यसैले लाग्दैन कि हाम्रो लगानी डुब्छ’, दयाहाङले भने ।

अभिनेता दयाहाङले नेपाली चलचित्रलाई विदेश चलचित्रले च्यापेको पनि बताउँछन् । नेपाली चलचित्रसँगै बलिउड तथा हलिउडका चलचित्र पनि सँगै रिलिजमा आउने हुँदा स्क्रिन (फिल्महलको शो) बाँडिने भएकाले त्यसलाई मिलाएर लैजानुपर्ने बताउँछन् । 

चलचित्र माछामाछामा सौगात मल्ल र नम्रता श्रेष्ठको जोडी बाँधिएको छ । दयाहाङले माछामाछाको मुख्य भूमिकामा सौगात र नम्रतालाई नै ‘सुट’ भएकाले उनीहरूमाथि लगानी गरेको बताए । चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सहनिर्माताको रूपमा छन् । यस्तै सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको माछा माछामा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, मौत्यसे गुरुङ, प्रवीन खतिवडा, सरिता गुरुङ, भोलाराज सापकोटा, पुष्कल गुरुङलगायतको अभिनय छ । 


Views: 63