27th January | 2020 | Monday | 5:10:03 AM

कोरियामा सीताको वन लेग डान्स

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७६ (१०:४८ AM)

कोरियामा सीताको वन लेग डान्स

काठमाडौं । नेपाली स्टेज तथा विभिन्न सांस्कृति कार्यक्रममा शास्त्रीय एक खुट्टा नृत्यांगनाको रूपमा परिचित सीता सुवेदी यतिबेला दक्षिण कोरियामा छिन् । गएको १४ नोभेम्बरबाट १७ नोभम्बरसम्म एसिसिएसी कोरियाको आयोजनामा सम्पन्न वन वल्र्ड वन फेम्ली कल्चरल फेष्ट २०१९ का लागि त्यहाँ पुगेकी सीतालाई अन्य कार्यक्रमबाट नृत्यमा अफर आइरहेका छन् । 

२५ देशको सहभागिता रहेको वन वल्र्ड वन फेम्ली कल्चरल फेष्ट कार्यक्रममा आफ्नो एउटा खुट्टाद्वारा शास्त्रीय नृत्य देखाएपछि उनको अधिक छ । यसैबीच सीतालाई कोरियामा अर्को ठूलो सफलता मिलेको छ । उनले डिसेम्बर ३ मा २८औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन पाएकी छन् । 

कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा वर्षेनी हुने कार्यक्रममा सीताले नेपालको तर्फबाट नृत्य प्रस्तुत गर्ने मौका पाएकी हुन् । कोरियाको सेवंग्नम सिटी हलमा आयोजित कार्यक्रममा शारीरिक रूपमा विभिन्न अपांगता भएका व्यक्तिको उपस्थिति थियो । उक्त कार्यक्रममा देश बाहिरको प्रतिनिधिŒव नेपालबाट मात्र थियो । कार्यक्रम हुनुभन्दा केही दिनअघि अर्को कार्यक्रमको सिलसिलामा कोरिया पुगेकी सीताको नृत्य देखेर उक्त कार्यक्रममा बोलाइएको थियो । 

उनलाई कोरियाली नागरिकले भव्य स्वागत गरेका थिए । कार्यक्रममा कोरियाका अपांगता भएका थुप्रै व्यक्तिले ब्लाइन्ड डान्स, डेफ डान्स, विहृलचियर डान्सजस्ता प्रस्तुति भएका थिए । त्यसैबीचमा नेपालको तर्फबाट सीताले क्लासिकल वन लेग डान्स गरेकी थिइन् । सीताले नेपाली पोशाकमा नेपाली झण्डा फहराउँदै एक खुट्टाले शास्त्रीय नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रस्तुति सुन्दर भएकाले सबैजनाले उठेर सम्मान व्यक्त गरेका थिए । 

सीताले कोरियाको त्यति ठूलो कार्यक्रममा नेपालको तर्फबाट आफूले प्रस्तुति दिन पाउनु ठूलो अवसर रहेको बताइन् । ‘मेरो लागि यो ठूलो अवसर हो । त्यसो त यहाँ बाहिरी देशको प्रतिनिधिŒव हुने गरेको थिएन तर यसपटक म यहाँ भएको र मेरो डान्सलाई मन पराएर स्वागत गरिदिनुभो खुशी छु’, सीताले टेलिफोनमा कुरागर्दै भनिन्, ‘यस कार्यक्रममा मलाई अवसर प्रदान गर्नुहुने किम योङ ऊ प्रति विशेष आभार व्यक्त गर्दछु ।’ किम योङ ऊ जो आफैं कोरियाका विहृलचियर डान्सर तथा गुरुसमेत हुन् ।

आजभन्दा २० वर्षअघि बोन म्यारो क्यान्सर रोगका कारण सीताले एक खुट्टा गुमाउनु परेको थियो । सानैदेखि नृत्यमा रुचि राख्ने सीताले एक खुट्टा गुमाए पनि जीवनसँग हरेस नखाई निरन्तर संघर्ष गर्दै गइन् । एक खुट्टाले पनि नृत्य गर्न सक्छु भन्ने आँटले लामो अभ्यास पछि उनले लामो समयसम्म नृत्य गर्न सक्छिन् । अहिले उनी नृत्य प्रस्तुतिकै लागि देश तथा विदेशका कार्यक्रममा व्यस्त छिन् ।


Views: 103