27th January | 2020 | Monday | 5:34:26 AM

आमाको रुवाउने ट्रेलर (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : पुष ४, २०७६ (११:०८ AM)

आमाको रुवाउने ट्रेलर (ट्रेलरसहित)

काठमाडौं । ‘पशुपति प्रसाद’जस्तो सफल चलचित्र निर्देशन गरेका दीपेन्द्र के खनालले निर्देशन गरेको नयाँ चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा ‘इमोनसल फोकस’ छ । चलचित्रमा अस्पतालको शैøयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्यागको कथालाई देखाउन खोजिएको छ । ट्रेलरमा आएका प्रतिक्रियालाई हेर्नेहो भने दर्शकले मन छुने कथा र आँखामा आँसु आएको लेखेका छन् ।

कार्यक्रममा बोल्दै नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’का लागि कपाल मुण्डन गर्दाको दृश्य खिचिरहँदा आफूलाई गाह्रो भएको बताइन् । उनले भनिन्, ‘मैले आफूलाई सम्हालिरहेकी थिएँ । यत्तिकैमा एकजना बुबा आउनुभयो र मेरो कपाल मुण्डन गरिदिनुभयो । उहाँले मलाई निकै मायाले कपाल मुण्डन गर्नुभएको थियो । उहाँको मायाले नै मलाई भावुक बनाएको थियो ।’ सुरक्षाले यो चलचित्रमा काम गर्दा आफू अभिनयको चरमविन्दुमा पुगेको बताइन् । ‘धेरै चलचित्रमा काम गर्दा अब त केही होला भन्दाभन्दै त्यो विन्दुमा पुग्न सकिदैन । तर, मैले यो चलचित्रमा काम गर्दा केही स्थानमा अभिनयको त्यो चरमविन्दु पाएकी छु ।’ उनले भनिन् ।

चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छन् । चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने चलचित्र खिच्ने र लेख्ने काम पनि खनालले नै गरेका छन् । चलचित्रमा लगानी शर्मिला पाण्डेको छ । चलचित्रमा सुरक्षा र मिथिलासँगै देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । चलचित्र आउँदो फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।


Views: 399