3rd June | 2020 | Wednesday | 9:03:03 AM

बन्ने भयो पर्खी बसेँ २

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७६ (१०:०९ AM)

बन्ने भयो पर्खी बसेँ २

काठमाडौं । बाह्र वर्षअघिको सुपरहिट चलचित्र ‘पर्खी बसेँ’ को सिक्वेलका रूपमा ‘पर्खी बसेँ २’ चलचित्र निर्माण हुने भएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुने यो चलचित्र हिमालयन मुभि स्टुडियोसँगको सहकार्यमा निर्माण गर्ने भएको छ । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभि स्टुडियोको विनोद सापकोटाबीच बिहीबार सहमति भएको हो ।

चलचित्रमा निकिता र विनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताका रूपमा रहनेछन् । पहिले ‘पर्खी बसेँ’ दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कथा पनि उनकै रहनेछ । 

पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात् रिच इण्टरटेनमेण्टले पाएको छ । चलचित्रमा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राजवल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेतीलगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाई दर्शकले रुचाएका थिए भनेपछि फिल्म पनि सुपरहिट भएको थियो । गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ‘पर्खी बसेँ २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ‘पर्खी बसेँ’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शकमाझ आउन लागेका हुन् ।


Views: 88