3rd June | 2020 | Wednesday | 7:57:51 AM

नाटकको नशा लागेका ढकाल

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७६ (१०:११ AM)

नाटकको नशा लागेका ढकाल

काठमाडौं  । दर्जन बढी नाटक निर्देशन, मञ्चन गरिसकेका रंगकर्मी देवेन्द्र ढकाल नाटकका क्षेत्रमा चिनिएको नाम हो । विगतमा नाटक गर्नेलाई समाजले खासै राम्रो मान्दैनथ्यो । सहज थिएन समाजलाई चिरेर अगाडि बढ्न । नाटक खेल्ने व्यक्तिलाई समाजले राम्रो मान्दैनथ्यो । त्यतिबेला नाट्यकर्मी सम्मानित थिएनन् । जब, २०५९÷६० सालतिरबाट केही रंगकर्मीहरूको पहलमा नाटक घरको स्थापना भएसँगै त्यसपछि बिस्तारै नाट्यकर्मीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको पाइन्छ । दर्शकहरू टिकट काटेर नाटक हेर्न आउन थालका छन् । नाट्यकर्मीको आर्थिक अवस्था पनि केही राम्रो बन्दै गएको पाइन्छ । अहिले नाटकको सिर्जनात्मक पक्ष बलियो बन्दै गइरहेको छ । निरन्तर रंगकर्ममा खटिइरहेका ढकालले निर्देशन, मञ्चन गरेका नाटकमा शेर्पा दाइ, अस्ताएको सूर्य, द एभरेष्ट भ्यू, वीरबहादुर, रगतको नाता, जुनेली रात, मनको बगैंचा, सल्लाघारी, नाकाबन्दी, साली भिना, गोर्खाली ठिटो, नखरमौली ठिटी, रंगमञ्च, दुर्गमका महिला, हारेको न्यायालय, यात्रा जिन्दगीको, बिरानो सहर, सुनकेशरी, जिउँदो सहिदलगायत छन् । रंगकर्मी देवेन्द्र ढकालले नाट्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाले पुरस्कृत, सम्मानित गरिसकेको छ ।

उनी भन्छन्, ‘म स्कुले जीवनदेखि नै लागेकाले अरू विकल्प मसँग थिएन । नाटक पनि हेरिन्छ ? भनेर मान्छेले उडाउँदा पनि नाटकको नशाले मलाई छोडेन । वास्तवमा मनले चाहेको ग¥यो भने नै सफलता मिल्छ । केही हदसम्म आज म सफल पनि छु ।’

नाट्य क्षेत्रमा ठूलै परिवर्तन नआए पनि जे जतिले रंगमञ्चमा काम गरिरहेका छन् ती रंगकर्मीहरू आफ्नो क्षेत्रलाई कसरी सुरक्षित र समय सुहाउँदो ढंगले अगाडि बढाउने भन्ने विषयमा चिन्तित देखिन्छ । तर, प्रविधिको तीव्र विकासले संसारलाई गाँजिसक्दा पनि थिएटरमा भनेजस्तो लाइटिङ वा साउण्ड सिष्टमको व्यवस्था नहुँदा राम्रा प्रस्तुतिलाई पनि दर्शकले खल्लो मान्दै हेर्नुपर्ने बाध्यताप्रति निर्देशक ढकाल दुःखी छन् । उनी भन्छन्, ‘हाम्रो आफ्नै थिएटर छैन । नाचघर, प्रज्ञाभवन, सभागृहजस्ता स्थानमा महंगो भाडा तिरेर नाटक मञ्चन गर्न कठिन हुन्छ । यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यको पनि ध्यान जानु जरुरी देख्छु म ।’


Views: 103