3rd June | 2020 | Wednesday | 8:50:07 AM

सन्तोषको फिल्मी गीतमा दर्जन बढी कलाकार

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७६ (३:४९ PM)

सन्तोषको फिल्मी गीतमा दर्जन बढी कलाकार

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका पुराना तथा चर्चित कलाकार सन्तोष पन्तले पहिलोपटक चलचित्र निर्माणमा हात हालेका छन् । उनको दशकअघिको टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ कै नाममा चलचित्र निर्माण हुँदैछ । यो चलचित्रको अहिले एक गीत सार्वजनिक भइरहेको छ । पछिल्लो समय चलचित्र प्रमोसनमा गीतले पनि ठूलो भूमिका खेल्ने भएकाले यो टिमले पनि गीतको निर्माणमा विशेष ध्यान दिइरहेको छ । अर्थात् गीतको भिडियोमा नेपालका थुप्रै चर्चित सेलिब्रेटीलाई राखेर फरक प्रयोग गर्दैछ ।

गत बुधबारदेखि चार दिन लगाएर गीतको छायांकन गरियो । जसमा नेपालका चर्चित सेलिब्रेटीलाई राखिएको छ । बसुन्धरास्थित पानस बैंक्वेटमा छायांकन गरिएको गीतमा अतिथि कलाकारका रूपमा अभिनेता मदनकृष्ण श्रेष्ठदेखि दीपाश्री निरौला, जितु नेपाल, केदारप्रसाद घिमिरे, शिवहरि पौडेल, हरिहर शर्मा, नम्रता श्रेष्ठ, रिमा विश्वकर्मा, गायक शम्भुजीत बास्कोटा, नवीन के भट्टराईलगायत कलाकारलाई राखिएको छ । सन्तोष पन्तको आग्रहमा थुप्रै कलाकार अतिथि कलाकारका रूपमा उक्त गीतमा देखिने सहमति भएका हुन् । 

नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हाँस्य टेलिसिरियल ‘हिजो आजको कुरा’ बाट धेरै कलाकार जन्मिएका पनि थिए । जसले गर्दा यो चलचित्रलाई विशेषरूपमा पनि हेरिएको छ । तर, चलचित्र कस्तो बन्छ भन्ने कौतुहलता भने पक्कै थपिएको छ । चलचित्र सन्तोषका छोरा साकार पन्तले निर्देशन गरिरहेका छन् । 

चलचित्रमा टेलिशुंखलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्यलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा विदेशमा रहेका र विदेश जान इच्छा राख्ने काठमाडौंका चार परिवारको समस्या संघर्षमा केन्द्रित छ । कमेडी जनरमा निर्मित चलचित्रमा पन्त बुबाछोराकै कथा रहेको छ । चलचित्रको छायांकनरत गीतले कत्तिको चर्चा कमाउला र चलचित्रको प्रमोसनमा कत्तिको फाइदा पु¥याउला भन्नेमा गीत रिलिजपछि पक्कै थाहा हुनेछ ।


Views: 125