3rd June | 2020 | Wednesday | 9:55:49 AM

सलमानको नयाँ फिल्म घोषणा

  POSTED ON : पुष २७, २०७६ (४:१४ PM)

सलमानको नयाँ फिल्म घोषणा

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र आउँदा नेपाली दर्शक पनि धेरै खुसी हुने गर्छन् । नेपालबाट पनि बलिउड चलचित्रले करोडौंको व्यापार गर्छ । त्यसमाथि सलमानको फिल्मलाई नेपाली दर्शकले विशेषरूपमा हेर्ने गरेका छन् । विशेषगरी चाडपर्वलाई लक्षित गर्दै सलमानले आफ्नो चलचित्र प्रदर्शन गर्दै आएका छन् । अहिले नेपाली हलहरूमा सलमानको ‘दबंग ३’ प्रदर्शन भइरहँदा अर्को चलचित्र बनाउने घोषणा गरेका छन् । 

शुक्रबार सलमानले सन् २०२०मा प्रदर्शन गर्नेगरी नयाँ चलचित्र घोषणा गरेका छन् । उनले आफ्नो ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले बनाउने नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’ हो । साजिद नाडियावालाले आफैं लिखित कथामा निर्माण गर्न लागेको यो चलचित्र फर्हाद साम्जीले निर्देशन गर्नेछन् । फर्हादले यसअघि हाउसफुलको चौथो संस्करण गरेका थिए । प्रायः कमेडी जनरमा काम गरेका साम्जी समीक्षात्मक हिसाबमा राम्रो प्रतिक्रिया पाएका निर्देशक होइनन् । उनका शिवा, सन डे, डबल धमाल, चेन्नइ एक्सप्रेस, सिंगमका दुई संस्करण निर्देशनले बक्सअफिसमा भने राम्रै प्रदर्शन गरेका थिए ।


सलमानका अधिकांश फ्यानले भने साम्जीको निर्देशनमा काम गर्नुलाई गलत निर्णयको संज्ञा दिएका छन् । कतिले भने इदका लागि डेट बुक गर्न हतारमा निर्णय लिएको भन्दै उनलाई मेन्सन गरेका छन् । 


Views: 159