19th January | 2020 | Sunday | 6:55:39 AM

श्रीलंकाका विज्ञ रंगशाला निर्माणमा

हिमालय टाइम्स   POSTED ON : पुष २८, २०७६ (१०:४७ AM)

श्रीलंकाका विज्ञ रंगशाला निर्माणमा

चितवन । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा आईसिसी ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको सो रंगशालाका लागि फाउण्डेशनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल र वार्नपुरबीच रंगशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलोपटक हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको व्यक्तिसँग जोडिन पाएकोमा खुशी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधिपछि पनि ग्राउण्ड कन्सल्टेन्टका रूपमा जोडिनेछन् । वार्नपुरा श्रीलंका टेष्ट क्रिकेट टिमको पहिलो कप्तानसमेत हुन् । उनी झण्डै ८ वर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाइरेक्टरसमेत रहिसकेका छन् । 

वार्नपुरा श्रीलंकाका लागि पहिलो ओडीआई खेल्ने खेलाडीसमेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।

श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षकसमेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (एसीसी)को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रूपमा उनले काम गरिसकेका छन् । हाल उनी आइसिसीअन्तर्गतको एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् । 

वार्नपुरालाई रंगशाला निर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् । ‘रंगशाला निर्माण अन्तर्राष्ट्रियस्तरको मात्रै होइन् यो एउटा नेपालको गौरव भएकाले विज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाह अनुसार उहाँलाई बोलाएका हौं’, वार्नरको विज्ञताअनुसार अभियानमा जोडिन बोलाइएको बताउँदै धुर्मुसले भने, ‘अझै पनि विशेषज्ञ आवश्यक परेको खण्डमा नेपालमै भएका वा बिज्ञहरू बाहिरबाट ल्याएर भए पनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रंगशाला बनाउँछौं ।’


Views: 71