19th January | 2020 | Sunday | 8:02:04 AM

नियतमाथि नायिकाको धारणा

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७६ (१०:४२ AM)

नियतमाथि नायिकाको धारणा

काठमाडौं । रंगीन दुनियाँका रंगहीन दृष्टान्तमाथि बनेको पुस्तक ‘नियत’ सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । रंग पत्रकार डिबी खड्काले लेखेको ‘नियत’ मा खड्काले आफूले पत्रकारिताका क्रममा देखेको रंगीन दुनियाँको अँध्यारो पाटोलाई उजागर गर्न खोजेको बताएका छन् । 

कार्यक्रममा पुस्तक विमोचनसँगै अन्तक्र्रिया गरियो । नेपाली चलचित्रका तीन नायिका रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले पुस्तकको समीक्षा गर्नुका साथै नेपाली चलचित्रक्षेत्रमा आफूहरूले भोगेको सहजता र अप्ठ्यारा विषयहरूमा अन्तक्र्रिया गरेका थिए । पुस्तक तीनै नायिकाले संयुक्त विमोचन गरे ।

लेखक खड्काले नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख गरे । ‘यो क्षेत्रबाहिरबाट हेर्दा जति चम्किलो छ भित्र त्यति नै अँध्यारो,’ उनले भने । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्ष उनले निकालेका छन् ।

‘सीमित महिलाबाहेक यस क्षेत्रमा लागेका अधिकांशको अनुहारमा देखिने हाँसोभित्र छुट्टै पीडाको सागरमा रहेको पाएको छु,’ उनले भने । महिला कलाकारमध्ये केहीले भोगेको हिंसालाई खड्काले पुस्तकका रूपमा आकार दिएका छन् । फिल्मी कलाकारिता क्षेत्रमा देखिएको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियतभित्र रहेको बताइएको छ । विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा अभिनेत्री रेखाले महिला यौन हिंसामा परेको र पुरुष कलाकार आर्थिकरूपमा शोषित भएको बताएकी छन् ।

समारोहमा बोल्दै रेखाले भनिन्, ‘नियतले महिलाहरूमाथि हुने नियतको विषयमा बोलेको छ र महिला यौन हिंसामा परेका होलान् तर पुरुष पनि यो क्षेत्रमा पीडित छन्’ रेखाले भनिन् , ‘यस क्षेत्रमा आउँदै गरेका पुरुषहरू आर्थिकरूपमा शोषित भएका छन् । म यो विषयमा पनि पुस्तक बजारमा आओस् भन्ने चाहन्छु ।’ रेखाले पुरुषलाई पनि महिलाले विभिन्न तरिकाबाट हिंसा गरेको बताउँदै भनिन्, ‘पुरुष र महिला भनेर छुट्याउनुभन्दा पनि ‘मानव’ का रूपमा विश्लेषण गर्नुपर्छ ।’


Views: 61