3rd June | 2020 | Wednesday | 10:07:55 AM

‘१२ सत्ताइसको कन्सेप्टले तान्यो’

हिमालय टाइम्स   POSTED ON : माघ २, २०७६ (१०:१६ AM)

‘१२ सत्ताइसको कन्सेप्टले तान्यो’

काठमाडौं । नवअभिनेता अभिषेक नेपाल उदाउँदा कलाकार हुन् । चलचित्र ‘नाई नभन्नु ल ५’बाट अभिनयमा डेब्यु गरेका अभिषेकले दोस्रो चलचित्र ‘१२ सत्ताइस’मा काम गरेका छन् । ‘नाई नभन्नु ल ५’मा नायिका स्वस्तिमा खड्कासँग स्क्रिन शेयर गरेको अभिषेक एक ‘इनोसन्ट’ भूमिकामा थिए । 

चलचित्रले खासै ठूलो ब्यापार गर्न नसकेपछि उनको कामको प्रसंशा भने भएको थियो । आफ्नो पहिलो चलचित्रको काम सकेपछि आफ्नो पढाइमा फोकस भएका अभिषेक हाल दोस्रो चलचित्रको प्रमोशनमा व्यस्त छन् ।

आगामी शुक्रबार (माघ ३) गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’मा उनी एक बेरोजगार युवाको भूमिकामा देखिँदैछन् । तीन बेरोजगार युवाहरूको काठमाडौंको दिनचर्याको विषयमा बनेको ‘१२ सत्ताइस’को कथा र ‘मेकिङ कन्सेप्ट’ आफूलाई मन परेकोले चलचित्रमा काम गर्न राजी भएको उनको भनाइ छ । ‘नाई नभन्नु ल ५ पछि अन्य केही चलचित्रबाट कुरा आएका थिए तर कतिको कथा र मेकिङ कन्सेप्ट राम्रो लागेन तर १२ सत्ताइस टिमले स्क्रिप्ट सुनाउने क्रममा जुन कन्सेप्ट सुनाउने भयो त्यो कुराले मेरो मन तानिएको हो ।’ अभिषेकले भने, ‘चलचित्र राम्रो बनेको छ जहाँसम्म लाग्छ मेकिङको कुरामा हालसम्म नेपाली चलचित्रमा यस्तो बनेको छैन ।’

अभिषेकले चलचित्रमा आफूले मिहिनेत गरेको बताउँछन् । साथै पछिल्लो समय नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा १२ सत्ताइसले कस्तो ब्यापार गर्ला भन्ने जिज्ञासामा उनी भन्छन्, ‘चलचित्र राम्रो बन्दा बन्दै पनि प्रमोसन नपुग्दा दर्शक हलसम्म नआउने अवस्था हुनसक्छ ।’ उनले चलचित्र राम्रो बनेरमात्र नहुने र प्रचारप्रसार पनि गर्नुपर्ने तर्क राखे । यस्तै अभिषेकले आगामी दिनमा एक एक्शन चलचित्रमा आफूलाई अभिनय गर्ने इच्छा भएको बताए । 

१२ सत्ताइस चलचित्रमा अभिषेकसँगै अस्मिता लामिछाने, समीर श्रेष्ठ, काजी राना, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय छ । हृयाप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र रेणु राना, दीपक खातिवडा र रूपक थापाले निर्माण गरेका हुन् । 

गौतम शाहा सहनिर्माता रहेको चलचित्रमा अनिश स्याङदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी छ । चलचित्र जोन योन्जनले निर्देशन गरेका छन् ।


Views: 107