3rd June | 2020 | Wednesday | 9:06:09 AM

सेल्फि खिचेर विजेता बन्ने अवसर

हिमालय टाइम्स   POSTED ON : माघ २, २०७६ (१०:१८ AM)

सेल्फि खिचेर विजेता बन्ने अवसर

काठमाडौं । चलचित्र ‘सेल्फी किङ’को केही दिनअघिमात्रै ट्रेलर सार्वजनिक भयो । अधिकांशले अभिनेता विपिन कार्कीको फरक अभिनय र लुक्स हेर्न पाइने भयो भन्ने प्रतिक्रिया दिएका छन् ।

चलचित्रको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेका बेला निर्माण टिमले पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको छ ।

हृयुमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्वीर खिचेर इच्छुक सहभागीले हाम्रो कम्युनिटीमार्फत सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीले विभिन्न मेकअपको प्रयोग गर्न सक्नेछन् । तर त्यो अनिवार्य भने छैन । पोष्ट गरिएका सेल्फीमध्ये विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ । 

तस्वीरहरूमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रोमार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कारस्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

यस प्रतियोगिताले ‘सेल्फी किङ’ झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा फिल्मका निर्माता दिनेश राउत विश्वस्त छन् । आफ्ना प्रयोगकर्तालाई यसले फाइदा पु¥याउने र नेपाली फिल्मको प्रवर्धनमा पनि टेवा पुग्ने भएकाले यस प्रतियोगितालाई अगाडि ल्याइएको हाम्रो पात्रोका एमडी सन्तोष देवकोटाले बताए । 

दिनेश राउत र सुवास थापाले संयुक्त लगानी गरेको यो चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायत कलाकारको अभिनय रहनेछ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छन् । चलचित्र यही माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 


Views: 125