3rd June | 2020 | Wednesday | 9:20:20 AM

आस्थाको भिडियोमाथि अनुसन्धान

हिमालय टाइम्स   POSTED ON : माघ ३, २०७६ (१०:५४ AM)

आस्थाको भिडियोमाथि अनुसन्धान

काठमाडौं । लोकप्रिय गायिका आस्था राउतले विमानस्थलमा आफूमाथि भएको दुव्यर्वहारलाई लिएर सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताए । 

क्षेत्रीले राउतमाथि दुव्यर्वहार भएको भए त्यो गलत काम भएको तर उनले बोलेको शैली नराम्रो भएको बताएका छन् । ‘उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन’ क्षेत्रीले भनेका छन् ।  

गायिका राउतले विमानस्थलमा आफूलाई चेकजाँचका क्रममा महिला प्रहरीले अपशब्द बोल्दै दुव्यर्वहार गरेको जनाएकी छन् । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् । उनले भिडियोमा भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’ गायिका राउत कार्यक्रमका लागि बाहिर जानेक्रममा आफूमाथि दुव्यर्वहार भएको र प्रहरी जुनसुकै नागरिकसँग सम्मानका साथ बोल्नुपर्ने बताउँछिन् ।


Views: 156