3rd June | 2020 | Wednesday | 9:47:42 AM

सेन्टी भाइरसमा घरभित्रको राजनीति (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : माघ १६, २०७६ (११:३४ AM)

सेन्टी भाइरसमा घरभित्रको राजनीति (ट्रेलरसहित)

काठमाडौं । आउँदो फागुन ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि कलाकारितासँगै सामाजिक कार्य गर्दै आएका हास्यजोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा परिवारभित्रको राजनीतिको कथालाई देखाइएको छ । 

बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर कार्यक्रममा चलचित्रका मुख्य कलाकार, निर्माण टिमदेखि अन्य केही चलचित्रकर्मीको उपस्थिति थियो । फरक पार्टीमा आबद्ध श्रीमान् (सीताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे)बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । 

चलचित्रमा सीराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल)को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ । सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित सो चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ । 

२ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिण्डु लामा हृयोल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फुर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सीतारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरिन् ।


Views: 161