18th February | 2019 | Monday | 3:56:52 PM

१८ औं इमेज अवार्डमा मधुशालाको हृयाट्रिक

  POSTED ON : Monday, 26 September, 2016 (1:57:52 PM)

काठमाडौं । इमेज च्यानलले राजधानीमा शनिबार साँझ आयोजना गरेको ‘१८ औं इमेज अवार्ड’ मा गायक सत्यराज आचार्यको नयाँ एल्बम ‘मधुशाला’ ले हृयाट्रिक गरेको छ । विन्ध्यवासिनी म्युजिक कम्पनीले उत्पादन गरेको यो एल्बमले ‘सर्वोत्कृष्ट एल्बम अवार्ड’ पायो भने एल्बममा रहेको ‘गोरी भन्दा’ बोलको गीतका लागि गायक सत्यराज आचार्यले ‘सर्वोत्कृष्ट गीत’ र ‘सर्वोत्कृष्ट संगीत’ को अवार्ड चुमे । राजधानीको कालिमाटीस्थित होटल सोल्टीमा आयोजना गरिएको अवार्डमा ‘म हुरीमा’ बोलको गीतका लागि गीतकार रमेश बिजीले ‘सर्वोत्कृष्ट गीत रचना’ को अवार्ड पाए । ‘सर्वोत्कृष्ट गायन लोक गीत’ विधामा राजु ढुंगेल र नवीन ढुंगेलले ‘अकबरी सुन’ का लागि पाउँदा ‘सर्वोत्कृष्ट गायन दोहोरी गीत’ तर्फ ‘फूल्यो बामरी’ का लागि कुमार पुन र प्रीति आले अवार्डको भागिदार अब्बल बने । यसैगरी ‘बागलुङको बजारमा’ गीतका लागि गीत संकलक वसन्त थापाले ‘सर्वोत्कृष्ट लोक गीत संकलन’, ‘झ्यारे जिते’ का लागि गायिका नीता पुन मगरले ‘सर्वोत्कृष्ट दोहोरी गीत’ को अवार्ड पाउँदा वर्षको ‘सर्वोत्कृष्ट पुरुष गायन’ विधामा ‘धोका दिने’ गीतबाट गायक मनोजराजले र ‘आकाश उही’ बाट बानिका प्रधानले ‘सर्वोत्कृष्ट महिला गायन’ को अवार्ड पोल्टामा पारे । यस्तै, पप गीततर्फ सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड ‘सम्झना’ का लागि अनिल सिंह र ‘तिमीलाई हेर्ने’ का लागि रेश्मा सुनुवार अब्बल बने । ‘सर्वोत्कृष्ट नव कलाकार’ को अवार्ड चाहिँ ‘ओइलिएर झर्न’ का लागि अर्जुन पाण्डेले चुमे । यसैगरी ‘तिमी नहुँदा’ का लागि रविन शर्मा र बानिका प्रधानले ‘सर्वोत्कृष्ट समूह गायन’, ‘म यस्तो गीत गाउँछु’ का लागि सुगम पोखरेल र अञ्जु पन्तले ‘सर्वोत्कृष्ट चलचित्र गीत’, ‘अब उठौं’ का लागि धर्मेन्द्र सेवानले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत’, ‘निभाउन नआए’ का लागि गोपाल रसाइलीले ‘सर्वोत्कृष्ट संगीत संयोजन’ र ‘धुँवा धुँवा’ का लागि मित्र लामाले ‘सर्वोत्कृष्ट गीत मुद्रण’ को अवार्ड जिते । म्युजिक भिडियोतर्फ ‘माया’ का लागि नितिन थापा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’, ‘नखरा’ का लागि सतिश श्रेष्ठ ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’, ‘तिमी तिमी छौ’ का लागि अनिल के मानन्धर ‘सर्वोत्कृष्ट छायाँकार’ र ‘बैशमा’ का लागि टेकेन्द्र शाहले ‘सर्वोत्कृष्ट भिडियो सम्पादन’ को अवार्ड सुरक्षित गरे । अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ चाहिँ फिल्म ‘वडा नम्बर ६’ को चर्चित गीत ‘सुर्के थैली’ जित्यो । कार्यक्रममा गीत संगीत क्षेत्रमा योगदान पु¥याएका एकजना कालजयी स्रष्टालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने संस्कारअनुरूप यसपटक वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई एक लाख रुपैयाँ राशिसहित सम्मान गरियो । साढे ४ दशकदेखि सांगीतिक क्षेत्रमा रहेका बाँस्कोटाले साढे तीन सय चलचित्रमा संगीत दिएका छन् । उनले २०३० सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । अवार्डमा २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिकरूपमा प्रसारण भएका गीत–संगीतलाई स्थान दिइएको थियो ।

Views: 96