8th April | 2020 | Wednesday | 10:12:00 AM

सबै मनोरञ्जनस्थल वैशाख १८ सम्म बन्द गरिने

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७६ (१०:२६ AM)

सबै मनोरञ्जनस्थल वैशाख १८ सम्म बन्द गरिने

काठमाडौं । विश्वका विभिन्न मुलुकमा फैलिएको कोभिड–१९ नेपालमा फैलिन नदिन नेपाल सरकारले विभिन्न कदम चालिरहेको छ । विभिन्न मेला महोत्सव यतिबेला स्थगित भइसकेका छन् भने नेपाल सरकारले अर्को स्वागत योग्य कदम चालेको छ ।

आउँदो वैशाख १८ गतेसम्मलाई सम्पूर्ण मनोरञ्जनस्थल बन्द गर्ने निर्णय गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार वैशाख १८ सम्मलाई सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायत मनोरञ्जनस्थल बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, आगामी वैशाख १८ गतेसम्म सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । 

केही हप्ताअघि सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि मानिसको भीडभाड रहने सिनेमा हलमा नजान आग्रह गरेको थियो । सरकारको यो आग्रहपछि सिनेमा हलमा दर्शकको उपस्थिति पातलिन थालेको थियो । जसका कारण सिनेमा हलहरू बन्द हुने अवस्थामा पुगेका थिए । सरकारको दोस्रो निर्णयसँगै अब देशभरका सिनेमा हलमा ताल्चा लाग्ने भएको छ ।

सरकारले झण्डै डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शनको तयारीमा रहेका फिल्म पछाडि सर्ने भएका छन् । यसअघि नै कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’ र ‘लक्का–जवान’ को प्रदर्शन स्थगित भइसकेको छ भने चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेका दुई प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ को रिलिज पनि स्थगित हुनेभएको छ ।


Views: 60