3rd July | 2020 | Friday | 4:14:49 AM

कलाक्षेत्रमा कोरोना प्रभावः सामाजिक सञ्जालबाटै मनोरञ्जन

गोपीकृष्ण चापागाईं   POSTED ON : चैत्र ७, २०७६ (१२:४५ PM)

कलाक्षेत्रमा कोरोना प्रभावः सामाजिक सञ्जालबाटै मनोरञ्जन

काठमाडौं । यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड १९) को त्रास फैलिरहेको बेला विश्वबजारको कला क्षेत्र पनि ठप्प छ । जीवनयापनमा मनोरञ्जन विधा अपरिहार्य छ त्यसका लागि विश्वका कैंयौं कलाकारले दिनहुँ मनोरञ्जन सामग्री दिएका हुन्थे तर अहिले ठप्प छ । 

चलचित्र, गीतसंगीत तथा विभिन्न माध्यमबाट विश्वबजारमा दर्शक तथा श्रोतामाझ मनोरञ्जन दिइरहेका कलाकार अहिले यतिखेर निकै फुर्सदिला बनेका छन् । नेपाल सरकारले मनोरञ्जनस्थल आउँदो वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेसँगै कलाकार घरमै बस्न बाध्य भएका छन् । विभिन्न सांस्कृति कार्यक्रम, स्टेज कार्यक्रम, दोहोरी साँझ, क्लब जस्तो मनोरञ्जनस्थल बिहीबारबाट ठप्प छन् । 

दिनहुँ सयौं कलाकारले दोहोरी साँझ, क्लब तथा स्टेज कार्यक्रमबाट मनोरञ्जन दिइरहेका थिए । तिनै कलाकार सामाजिक सञ्जालमा तस्वीर तथा स्टाटस पोष्ट वा भिडियो पोष्ट गरेर मनोरञ्जन दिइरहेका छन् । कतिले टिकटक जस्ता मोबाइल एप्समार्फत भिडियो सामग्री सार्वजनिक गरेर मनोरञ्जन दिइरहेका छन् । 

विशेषगरी कलिउडभन्दा बलिउड र हलिउडको कलाक्षेत्रलाई कोरोनाले बढी प्रभाव पारेको देखिएको छ । भारतमा पनि कोरोनाको संक्रमित सयभन्दा बढी भएपछि कलाकार बाहिर निस्किन सकेका छैनन् । चलचित्र तथा म्युजिक भिडियोको छायांकन ठप्प छन् । कतिपय कलाकारहरू क्वारेन्टाइनमा बसेका छन् । भाइरस संक्रमणबाट बच्न आआफ्नो घरमा सेल्फ–अइसोलेसनमा बसिरहेका सेलिब्रेटीले सामाजिक सञ्जालमै गीत गाएर दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । 

हलिउडका रक ब्यान्ड कोल्डप्लेका लिड गायक क्रिस मार्टिनले इन्स्टाग्राममा गीत गाउँदै गरेको भिडियो शेयर गरेका छन् । इन्स्टाग्राममा लाइभ आउँदै उनले सबै ब्याण्ड सदस्यसँगै बसेर बजाउनुपर्ने हो तर कोरोनाका कारण सबैजना भिन्नभिन्न देशमा रहेकाले पहिलोपटक एक्लै गाउन लागेको बताएका छन् । साथै उनले आफ्ना दर्शक के गरिरहेका छन् भन्ने थाहा पाउन पनि लाइभ सोलो मिनी कन्सर्ट गर्न लागेको बताए ।

यस्तै गायक जोन लेजेण्डले पनि ट्विटरमा उनको चर्चित गीत ‘अल अफ मी’, ‘अ टेल एज बोल्ड एज टाइम’ र ‘बिउटी एण्ड दि विष्ट’ गाएका छन् । भिडियोमा उनलाई श्रीमती क्रिसी टाइगनले साथ दिएकी छन् । भने गायक जस्टिन बिबर र श्रीमती हेली बोल्डविन ‘हृवाइ इज एभरिथिङ क्रोम’ गीतमा नाच्दै गरेको भिडियो सार्वजनिक गरेका छन् ।

चेल्सी हृयाण्डलरले पनि जम्पसुटमा आफ्नै कोठामा ¥याम्प गरिरहेको भिडियो अपलोड गरेकी छन् । त्यस्तै मार्क डुप्लासले पनि ड्रम बजाउँदै गीत गाउँदै गरेको भिडियो शेयर गर्दै ‘कोरोनाः दि म्युजिकल पार्ट २’ क्याप्सन दिएका छन् । त्यस्तै डेभिड स्पेद, डायन किटन, म्याडोमालगायत कलाकारले पनि सामाजिक सञ्जालमार्फत् गीत गाउँदै त कोही नाच्दै गरेको भिडियो शेयर गर्दैै आफ्ना दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

बलिउडका चर्चित कलाकारहरू ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । अभिनेत्री आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्न सेल्फ आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । त्यस्तै अभिनेता अर्जुन कपुर पनि चार दिनदेखि सेल्फ आइसोलेसनमा बसेका छन् । उनले इन्स्टामा एउटा तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘क्वारेन्टाइन डे थ्री ।’ त्यस्तै उनको फिल्म ‘सन्दीप पिंकी फरार’ को रिलिज डेट स्थगित भएको छ ।

यसैगरी दिलीप कुमार पनि सेल्फ आइसोलेसनमा सामिल भएका छन् । उनी लामो समयदेखि बिरामी थिए । धेरै उमेर भएका कारण उनले कोरोना भाइरसबाट बच्न सेल्फ आइसोलेसनमा बस्ने निर्णय लिएका हुन् । अभिनेत्री सोनम कपुर बेलायतबाट भारत फर्किएलगत्तै आइसोलेसनमा बसेकी छन् । 

नेपाली सेलिब्रेटी बाहिर निस्किेर मनोरञ्जन दिन नसकेपछि स्टुडियोमा गीत रेकर्ड तथा घरमै बसेर स्क्रिप्ट लेखन, गीत लेखन, विभिन्न योजना तयारी गरिरहेका छन् । गीतसंगीत क्षेत्रमा निकै व्यक्त कलाकार प्रमोद खरेल, शिव परियार, पशुपति शर्मा, हेमन्त शर्मा, शान्ति श्री परियार, राजनराज शिवाकोटी, अर्जुन पोखरेल, शिव हमाललगायत कलाकार अहिले स्टुडियोमा व्यक्त छन् । दिनहुँ विभिन्न स्टेज कार्यक्रममा हिँड्नुपर्ने भएकाले स्टुडियोमा समय दिन नभ्याएका कलाकार सो समयलाई स्टुडियोमा सदुपयोग गरिरहेका छन् ।


Views: 148