8th July | 2020 | Wednesday | 7:32:41 AM

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७७ (१०:०४ AM)

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं । वरिष्ठ गीतकार एवं कवि रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विगत तीन महिनादेखि ढाडको नशा सम्बन्धी समस्याले बिरामी रहनुभएका उहाँलाई बुधबार सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । 

थापाले रचना गर्नुभएका ‘जाग लम्क चम्क’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’ लगायतका गीत चर्चित छन् । उहाँका गीतहरू नारायण गोपाल, प्रेमध्वज प्रधानलगायत अग्रज पुस्ताकादेखि नयाँ छिमलका गायक–गायिकाहरूसम्मले गाएका छन् । यस्तै थापाका ‘चक्लाभरिको घाम’, ‘ताराका काँचा रङ’ कवितासंग्रह, ‘ओभानो सिउँदो’, ‘रुझेका परेला’ गीतसंग्रहलगायत कृति प्रकाशित छन् ।

थापाले देवकोटा साहित्य पुरस्कार, जगदम्बा–श्री, युगकवि सिद्धिचरण काव्य पुरस्कारलगायतका पुरस्कार र सम्मान पाउनुभएको छ । थापाका श्रीमती र २ छोरा हुनुहुन्छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत थापाको निधनले आफूलाई दुःख लागेको भन्दै सामाजिक संजालमार्फत श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।


Views: 94