8th July | 2020 | Wednesday | 6:29:18 AM

मिडियामाथि साम्राज्ञीको आक्रोश

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (११:४४ AM)

मिडियामाथि साम्राज्ञीको आक्रोश

काठमाडौं । नेपाली चलचित्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पछिल्लो केही दिनयता नेपाली चलचित्रका केही ब्यानरका निर्माताहरूले गरेको अभद्र व्यवहार बारे बोल्दै आउनुभएको छ । पाँच वर्षभित्र गरेका आठ चलचित्रका नराम्रा गतिविधिको विषयमा सामाजिक सञ्जालमार्फत साम्राज्ञीले आक्रोश पोख्दै आउनुभएको छ । केही दिनअघि चलचित्र निर्माता तथा अभिनेता भुवन केसीसँग सामाजिक सञ्जालमा ‘वार’नै चलेको छ ।

उहाँले आफूले काम गरेको चलचित्रको छायांकनको समयलाई सम्झिँदै भन्नुभएको छ, ‘फिल्मको सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता निर्देशकहरू आक्रमण शैलीमा आउँथे । उनीहरूको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’ आफूले काम गरेका तीन ब्यानरमा पुनः नदोहोरिनुको कारण ती ब्यानरका व्यक्तिहरूको गलत व्यवहार रहेको उहाँले बताउनु भएको छ । 

फेरि साम्राज्ञीले आफ्नो सामाजिक सञ्जालमार्फत अर्को भिडियो शेयर गर्दै मिडियामाथि आक्रोश पोख्नुभएको छ । मिडियाले आफूले पैसा कमाउन कलाकारलाई प्रयोग गरेको आरोप लगाउनु भएको छ । उहाँले विशेषगरी अनलाइन मिडिया र युट्युवमा गरिने अन्तर्वार्ता केवल युट्युवर्सका लागि मात्र फाइदा भएको र आफूले राख्न खोजेका कुरा बाहिर नआउने प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नु भएको छ, ‘मैले आज बोल्नै पर्ने छ । मलाई थाहा त कत्ति कलाकारले यो कुरा बोल्न खोजिरहनु भएको छ । पछिल्लो केही दिनयता मलाई धेरै मिडियाबाट अन्तर्वार्ताका लागि फोन आइरहेका छन् तर मैले अन्तर्वार्ता नदिने निर्णय गरेकी छु । किनकि अनलाइन मिडियामा विशेषगरी हाम्रोभन्दा पनि आफ्नो फाइदा हेडलाइन राख्ने गरिन्छ ।’

साम्राज्ञीले युट्युवमा अन्तर्वार्ता पहिल्यैदेखि नदिने निर्णय गरेको तर चलचित्र निर्माता तथा निर्देशकहरूको दबाबमा आफूले बाध्यभएर अन्तर्वार्ता दिएको प्रतिक्रिया दिनुभएको छ । साम्राज्ञीले शेयर गरेको भिडियोमा हाँस्दै हामीलाई पनि पैसा देऊसमेत भन्नुभएको छ । ‘युट्युवमा हामीलाई प्रयोग गरेर पैसा कमाउछन्, त्यत्रो पैसा कमाउँछौं, हामीलाई पनि पैसा देऊ’, उहाँले भन्नुभएको छ । ‘युट्युवमा राखिने कतिपय भिडियोमा आउने कमेन्ट गालिगलौज हुन्छ । यदि कलाकारलाई सम्मान गर्नुहुन्छ भने त्यो कमेन्ट सेक्सन हाइड गर्नसक्नुहुन्थ्यो नि ∕’ उहाँले अनलाइन मिडियामा समाचार लेख्नेलाई दोष दिनुभएको छ । साम्राज्ञीले अभिनय गरेका चलचित्र ‘डिम्स, ए मेरो हजुर २, मंगलम, तिमी सँग, कायरा, इन्टुमिण्टु लण्डनमा, मारुनी र रातो टीका निधारमा’ रहेका छन् । यी मध्ये अधिकांश चलचित्र सफल मानिएका छन् ।


Views: 88