Date:2017/08/22 |Tuesday

आज अनशनको १२ दिन, डा केसीको स्वास्थ्य बिग्रिंदै

Posted on: August 04, 2017 | views: 31 | हीरालाल विश्वकर्मा

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । 

अनशनको ११ औँ दिन बिहीबार उनलाई रगतमा इलेक्ट्रोलाइट्सको कमी, शरीरमा अम्लियपना बढ्ने र बेलाबेला डिसओरिएन्टेसनको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

डा केसी बिहीबार अपराहृन त्रिवि शिक्षण अस्पताल महारागन्जको गणेशमान स्मृति भवनको तेस्रो तलामा निःशब्द सुतिरहेको अवस्थामा थिए । उनलाई भेट्न जानेहरूको संख्या उल्लेख्य रहे पनि नजिकबाट भेट्न दिइएको छैन । आफ्नो अनशनप्रति ऐक्यबद्धता जनाउन आउनेहरूसँग डा केसीले केही दिनयता कुराकानी गर्न सकेका छैनन् । उनलाई निरन्तर स्लाइन र अक्सिजन दिइएको छ । उनलाई आँखा खोल्नसमेत कठिन भइरहेको देखिन्थ्यो ।


डा. केसीको हेरचाहमा एकजना नर्स खटिएकी छन् । नर्ससँगै एकजना कुरुवाका साथै स्लाइन र अक्सिजन फेर्नका लागि अर्का एकजना सहायक रहेका छन् । उपचारमा संलग्न डा दिव्यासिंह शाहकाअनुसार डा केसीमा पछिल्लो समय छाती, टाउको र मांशपेशीको दुखाइ बढ्दै गएको छ । ‘कुनै पनि बेला स्वास्थ्यस्थिति निकै जटिल बन्न सक्ने देखिन्छ’, उनले भनिन्, ‘अनशनको ११ औँ दिन हसँदा उहाँको मांसपेशी बाउँडिने, छाती दुख्ने, मुटुको चाल कम हुने, रिंगटा लाग्ने र रक्तचाप कम हुने समस्या देखिएका छन् ।’ 

चिकित्सककाअनुसार रगतमा चिनीको मात्रासमेत कम भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा केसीमा देखिएको यो समस्या अघिल्लो दिनको तुलनामा बढी हो । यस्तै अवस्था रहिरहे उनको स्वास्थ्यमा कुनै पनि बेला जटिल समस्या आउन सक्छ । 

यसअघिका अनशनमा डा केसीमा यस्ता समस्या कम देखिएको थियो । यसपटक भने उनमा अनशन बसेको ४–५ दिनदेखि नै समस्या देखिन थालेको जनाइएको छ । अनशन लम्बिँदै गए पनि सरकारी पक्ष केसीका मागमा गम्भीर देखिएको छैन ।

चिकित्सा शिक्षा सुधारको मुख्य मागसहित डा केसी ११ औँ अनशनमा छन् । पाँचपटकसम्म वार्ता भए पनि मूल एजेण्डामै प्रवेश नगरेको भन्दै डा केसी पक्षको वार्ताटालीले बुधबार कर्मकाण्डी वार्तामा बस्नुको औचित्य नभएको बताएको थियो । वार्तामा खासै प्रगति हुन नसकेपछि केसीका वार्ताटोली सदस्य डा जीवन क्षत्रीले विज्ञप्ति जारी गर्दै सरकारी टोलीलाई थप गृहकार्यपछि मात्र वार्तामा बोलाउन आग्रह गरेका थिए । उनले अब आम नागरिकलाई आहृवान गरेर दबाब सिर्जना गर्ने योजनाअनुरूप यही शनिबार माइतीघर मण्डलामा कार्यक्रम गरिने जनाए ।

डा केसीको पक्षमा सरकारमाथि विभिन्न क्षेत्रबाट दबाबसमेत बढ्दै गएको छ । विगतका अनशनभन्दा यसपटक सरकारले वार्ताटोली चाँडै गठन गरेपनि ५ पटकसम्मको वार्ता औचित्यहीन भएको छ । डा केसीले माथेमा आयोगको प्रतिवेदनको निष्कर्ष र आफ्नो सुझाव अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अविलम्ब पारित हुनुपर्ने, आइओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्नुपर्ने माग अघि सारेका छन् । 

वार्ता विधेयकमा अड्केको छ । सरकारी वार्ता टोलीले विधेक आफ्नो क्षेत्रमा नपर्ने भएकोले कुनै निर्णय दिन नसक्ने बताउँदै आएको छ । सरकार पनि यसमा केही बोलेको छैन । हाल संसदीय समितिमा रहेको विधेयकमा डा केसीमा माग विपरीत संशोधनहरू परेका छन् ।  

त्यस्तै चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्नुपर्ने, एमडी, एमएस र एमडिएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरूका लागि २२ लाख रुपैयाँ कायम गर्नुपर्ने र आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायजरूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग पनि अघि सारिएका छन् ।

 सरकारी पक्षसँग वार्तासमेत अनिश्चित भएपछि डा केसीका समर्थक आवासीय चिकित्सकले थप आन्दोलन घोषणा गर्ने तयारी गरेका छन् । बुधबारदेखि शिक्षण अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका उनीहरूले थप आन्दोलनको चेतावनी दिँदै आएका छन् । अहिले शैक्षिक गतिविधिसमेत सुचारु हुन सकेको छैन । 

सांसदहरूसँग छलफल

सरकारी वार्ता टोलीका संयोजक रहेका शिक्षासचिव शान्तबहादुर श्रेष्ठले डा. केसीका मागसम्बन्धमा सांसदहरूसँग निरन्तर छलफल जारी रहेको बताएका छन् । उनले संसदको महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिकी अध्यक्ष रञ्जु झासहित विभिन्न सांसदसँग बिहीबार पनि छलफल भएको जानकारी दिए । 

‘उहाँ (डा केसी) का वार्ता टोली सदस्यले वार्तामै आउन नसमाने पनि हामी उहाँकै प्रतिनिधिहरूका हैसियतले सांसदहरूसँग निरन्तर छलफलमा छौँ,’ संयोजक श्रेष्ठले हिमालय टाइम्ससँग भने, ‘डा केसीले उठाएका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सांसदहरूको तहबाट मात्रै टुंगो लाग्ने अवस्था देखिएन ।’

उनकाअनुसार शुक्रबार डा केसीका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, समितिकी सभापति रञ्जु झा, माथेमा आयोगका प्रतिनिधि र सरोकारवाला अन्य निकायसँग छलफल गरिने भएको छ । सो छलफलपछि डा केसीका प्रतिनिधिसँग वार्ता हुने पनि सचिव श्रेष्ठले जानकारी दिए । 

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं