Date:2017/12/15 |Friday

पाल्पामा स्वाइन फ्लुबाट एक जनाको मृत्यु

Posted on: August 05, 2017 | views: 78 |

पाल्पा । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लुका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइरसका कारण भएको हो।
उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो।

ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ। तर उनीको मृत्यु के कारणले भएको भन्ने यकिन हुन सकेको छैन।

पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी मदाने–१ की १६ वर्षीया अनिता विष्टको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो। केन्द्रीय प्रयोगशालाको टोली  पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले जानकारी दिए।


इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द
स्याङ्जाको वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुस गर्दै यहाँका सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा कार्यालय स्याङ्जाका श्रोत व्यक्ति भरतप्रसाद बगालेले भने “अहिलेको बिदालाई अन्य बिदामा कटाउने गरी जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको हो ।”

यहाँका सामुदायिक विद्यालय साउन २२ गतेसम्म बर्खे बिदामा रहेकाले सामुदायिक विद्यालयमा बिदा गर्नु नपरेको बगालेले बताए। बजार क्षेत्रमा रहेका करिब १७ संस्थागत विद्यालय साउन २८ गतेसम्मका लागि बिदा गरिएको छ ।

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ देखिएको थियो । यही साउन ९ गते एक जनाको उपचारका क्रममा निधन भएपछि वालिङ आसपासका २० जनाको नमूना संकलन गरिएको थियो ।

“छ जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नियमित सम्पर्क गरिरहेको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले भने, “अब आत्तिनुपर्ने अवस्था छैन, छ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट प्राप्त भएको छ ।”

यस रोगबाट बच्न खोक्दा, हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं