Date:2017/12/15 |Friday

स्वास्थ्यमन्त्रीको ३६ बुँदे प्रतिबद्धता

Posted on: August 07, 2017 | views: 46 |

हिमालय टाइम्स

काठमाडौं । मन्त्री पोखरेलले ३६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै कार्यान्वयनका लागि ७ दिनभित्र समय तालिकासहितको कार्ययोजना ल्याउने जानकारी दिए । संविधानमा व्यवस्था भएका निःशुल्क स्वास्थ्यलगायतका व्यवस्था र मौलिकहक ढृढतापूर्वक कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ । उनले आर्थिक जोखिममा रहेकालाई सुरक्षाको प्रत्याभूति दिलाउन २५ जिल्लाका अतिगरिब र विपन्न परिवारको स्वास्थ्य बिमाको प्रिमियमको रकम सरकारले तिरिदिने योजना अघि सारेका छन् । 

मन्त्री पोखरेलले औषधिको अभाव कम गर्ने, स्थानीय स्वास्थ्य संस्थामा हुने औषधि अभाव अन्त्य गर्न खरिद र वितरण सजिलो बनाउन केन्द्रमा बोलपत्र र स्थानीय तहमा खरिद अवधारणा सुरु गर्ने बताए । ‘स्वास्थ्य नेपाल–समृद्ध नेपाल’ नारासहित आएको मन्त्री पोखरेलको प्रतिबद्धतामा प्रत्येक स्वास्थ्य संस्थामा जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कडाइका साथ लागू गरिने उल्लेख छ । 

मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रको बजेट ८ प्रतिशत पु¥याउने योजना पनि अघि सारेका छन् भने स्वास्थ्य बिमालाई आधारभूत स्वास्थ्य सेवाको परिपूरकको रूपमा लिँदै सबैलाई स्वास्थ्य बिमामा आबद्ध बनाउने प्रतिबद्धता जनाएका छन् । नेपालको संविधानअनुरूप संघीयता कार्यान्वयन एवं स्वास्थ्य क्षेत्रका प्रतिफलहरू कायम राख्दै जनस्वास्थ्य क्षेत्रमा थप प्रगति उन्मुख कार्ययोजना बनाई कडाइका साथ लागू गरिने प्रतिबद्धतामा जनाइएको छ । 

‘स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई दिने एवं प्रादेशिक स्वास्थ्य सेवालाई योजनाबद्धरूपमा अघि बढाउन तत्काल सात प्रदेशबाट कार्यको थालनी गरिनेछ’, प्रतिबद्धतामा भनिएको छ । दुर्गम क्षेत्रमा अति विपन्न जनतालाई विशेषज्ञ सेवा प्रदान गर्न हाल सञ्चालनमा रहेका सेवाका अतिरिक्त प्रतिष्ठान र मेडिकल कलेजको शिक्षण जिल्लाको संख्या अभिवृद्धि गरी सेवा विस्तार गरिने मन्त्री पोखरेलले प्रतिबद्धता जनाएका छन् । 

कर्णालीलगायतका प्रतिष्ठानको क्षमता वृद्धि गरी देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता छ । चिकित्सा शिक्षामा देखापरेका विकृतिको सम्बन्धमा विभिन्न समयमा भएको आन्दोलन र मागलाई उपयुक्त किसिमले सम्बोधन गर्ने प्रतिबद्धता छ । 

मन्त्री पोखरेलले जनयुद्ध, जनआन्दोलन र मधेसलगायतका विभिन्न आन्दोलनका घाइतेको उचित स्वास्थ्य सेवा र व्यवस्थापन गर्ने बताएका छन् । यसैगरी सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलियालगायतका रोगको अनुसन्धान तथा उपचारलाई प्राथमिकता दिने उनले बताए । स्वास्थ्य क्षेत्रका औचित्यपूर्ण नीति तथा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं