Date:2017/12/15 |Friday

डा. केसीको अनशन : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

Posted on: August 07, 2017 | views: 52 |

हिमालय टाइम्स

काठमाडौं । सांसदहरूले ११ औं पटक आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीको माग सरकारले सम्बोधन गर्न चासो नदेखाएको भन्दै आलोचना गरेका छन् । उनीहरूले अविलम्ब माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

संसद्को आइतबारको बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले केसीको अनशन १४ औँ दिन बितिसक्दा पनि सरकारले बेवास्ता गरेकोे आरोप लगाइन् । ‘केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ, यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन्, ‘केसीको मागमा व्यक्तिगत स्वार्थ छैन । उनको मागको पछाडि आम नेपालीको स्वार्थ जोडिएको छ ।’ सांसद पुनले उपत्यकाभित्र मात्रै मेडिकल कलेज केन्द्रीकृत गरिनु हुन्न भन्ने केसीको माग जायज भएको बताइन् । 

काठमाडौंबाट टाढा रहेका जनताले सुविधा पाएनन् भनेर नै केसीले अनशन थालेको उनको भनाइ थियो । उनले केसीको अनशनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट ऐक्यबद्धतासमेत जनाइन् । ‘वार्ता सार्थक हुनुपर्छ’, उनले भनिन्, ‘सहमति कार्यान्वयनमा सरकारले गम्भीरता अपनाउन सकेन ।’ 

नेपाल परिवार दलका सांसद एकनाथ ढकालले चिकित्सा शिक्षा विधेयकलगायतका माग राखेर डा केसी अनशन बसेको १४ औं दिन बित्दासमेत उनको मागमा सरकारले चासो नदेखाएको आरोप लगाए । उनले यो विषय संसद्को क्षेत्राधिकारको भएको टिप्पणी गरे । ‘छलफल गरेर चिकित्सा शिक्षा ऐन पारित गराउन संसद् तयार हुनुपर्छ । माग पूरा गराउन सरकारको ध्यानाकर्षण गर्दछु’, ढकालले भने । 

नेपाली कांग्रेसकी सांसद रिताकुमारी शाहीले पनि केसीको अनशनबारे सरकार प्रस्ट हुनुपर्नेमा जोड दिइन् । सांसद श्यामकुमार श्रेष्ठले केसीको स्वास्थ्य अवस्था खराब भइसकेको जनाए । ‘एकजना डक्टरलाई बारम्बार सम्झौता गर्ने र अनशनमा पु¥याउने किन गरिन्छ ?’ श्रेष्ठले प्रश्न गरे, ‘दूरदराजका जनताले डाक्टर पाउनुपर्छ वा पढ्न पाउनुपर्छ भन्ने कुरा उचित छैन र ?’ सरकारले यो विषयलाई चासोका साथ नहेरेको भन्दै उनले आपत्ति जनाए ।

अनशन तोड्न शिक्षामन्त्रीको आग्रह 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीलाई अनशन तोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुने अवस्थामा रहेकाले अनशन तोडेर सार्वभौम संसद्को सम्मान गर्न आग्रह गरे । 

शिक्षा मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन माथेमा आयोगको सुझावअनुसार परिमार्जन गरी पारित गर्ने तयारी सरकारले गरेको जानकारी दिए । 

‘संसद्बाट ऐन पारित गर्ने कार्यमा सरकार जुटेकाले संसदीय सर्वोच्चतालाई आत्मसात गर्न डा. केसीलाई आग्रह गर्दछु’, उनले भने, ‘स्वास्थ्य पद्धति सुधार्न पनि चिकित्सा शिक्षा ऐन छिट्टै ल्याउन सरकार सक्रिय छ ।’ मन्त्री पोखरेलले जति छिटो अनशन तोड्यो त्यति नै छिटो चिकित्सा शिक्षा ऐन पारित गर्न सहज हुने भन्दै संसदीय प्रणालीलाई व्यक्तीकरण नगरी अनशन स्थगित गर्न सुझाव दिए । 

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं