Date:2017/12/15 |Friday

सगरमाथा अञ्चल अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो, चिकित्सक अभाव

Posted on: August 07, 2017 | views: 72 |

सप्तरी । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ।

बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्ने जस्ता बिरामी दिनहँु अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर अन्य स्थानमा जाने गरेको गुनासो पाइएको छ । अस्पतालमा करिब २२ जना कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकोमा हाल दुईजना मात्र छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरेहको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए। उनले चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालमा स्वास्थ्य सेवा पुर्याउन नसकेको बताए ।

अर्थोपेडिक र जनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्ण रुपमा खाली नै रहेको उनले बताए । अस्पतालमा दुई करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाटसमेत उपकरण उपलब्ध भए पनि विशेषज्ञको अभावका कारण उपलब्ध भएका उपकरण पनि सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं