Date:2017/08/22 |Tuesday

डा केसीको अनशन तोडाउन प्रधानमन्त्रीलाई नागरिक समाज र माथेमा कार्यदलको आग्रह

Posted on: August 12, 2017 | views: 20 |

काठमाडौँ । नागरिक समाज र माथेमा कार्यदलको प्रतिनिधिमण्डलले अनशनरत शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीको अनशन तोडाउन सरकारलाई आग्रह गरेको छ । 

शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रतिनिधिमण्डलले डा केसीको स्वास्थ्य गम्भीर भएकाले चाँडो अनशन तोडाउन आग्रह गरेको हो । 

भेटका क्रममा शुक्रबार महिला, बालबालिका समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक–२०७३ पारित भएकोमा आपत्ति जनाउँदै प्रतिनिधिमण्डलले मनमोहन मेडिकल कलेज खरिद गर्न सरकारलाई आग्रह गरेको थियो । 

जवाफमा प्रधानमन्त्री देउवाले डा केसीको मागप्रति आफू र आफ्नो पार्टीको समर्थन रहेको तर यसमा प्रमुख प्रतिपक्षी दल एमाले सहितका पार्टीको पनि समर्थन चाहिने भएकाले उनीहरुसँग पनि छलफल र पहलकदमी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री कार्यालयको निजी सचिवालयले जनाएको छ । 

भेटमा प्रा केदारभक्त माथेमा, कनकमणि दीक्षित, चरण प्रसार्इं, सुशील प्याकुरेललगायत डा केसीको वार्ताटोली सदस्य सहभागी थिए । 

यसैबीच, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पनि प्रधानमन्त्रीसँग छुट्टै भेटगरी मनमोहन कलेज सरकारले खरिद गरेर अन्य माग माथेमा कार्यदलको सुझावअनुसार कार्यान्वयन गर्न सुझाव दिएका छन्। 

जवाफमा प्रधानमन्त्रीले आफू सकारात्मक भएपनि मनमोहन सञ्चालक समितिले मान्नुपर्ने र त्यसका लागि पहल गर्न आग्रह गरेका थिए । 

चिकित्सा शिक्षा विधेयकले नेपाली जनतालाई नै फाइदा पुग्ने भएकाले उक्त विधेयक पारित हुनुपर्छ भन्नेमा प्रधानमन्त्रीको पनि जोड रहेको पूर्व स्वास्थ्यमन्त्री थापाले जानकारी दिए । 

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं