Date:2017/11/23 |Thursday

मैनबत्तीको भरमा उपचार

Posted on: August 19, 2017 | views: 188 | राजेन्द्रबहादुर सिंह

बझाङ । जिल्ला अस्पताल बझाङमा निरन्तर दुई सातादेखि विद्युत सेवा अवरुद्ध भएपछि साँझ मैनबत्ती बालेर बिरामीको उपचार भइरहेको छ । 

सुर्मा गाउँपालिकामा रहेको सुर्मादेवी विद्युतगृहको बाँध बाढीले बगाएपछि दुई सातायता विद्युतसेवा अवरुद्ध भएको छ । जिल्ला अस्पतालमा विद्युत अवरुद्ध हँुदा स्वास्थ्यर्कीहरूले साँझ मैनबती बालेर विरामीको उपचार गर्दै आएका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र जेनेरेटर सेवा विगत दुई महिनादेखि विग्रीएको छ । विद्युतसेवा अवरुद्ध हुन थालेपछि विषेशत जिल्ला अस्पतालमा आउने दमका विरामी निकै मर्कामा परेका छन् । जिल्ला अस्पतालको इनडोरमा भर्ना भएका बिरामीको ब्याड साँझ मैनबत्ती बालेर खोज्नु पर्ने अवस्था छ । मैनबत्तीको सहाराले साँझपख बिरामीहरूको उपचार गर्न कठिनाई हुने गरेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू बताँउछन् । 

वैकल्पिक उर्जाको नाममा जिल्ला अस्पतालको प्रशासन गृहमा मात्र एक वटा सोलार जडान गरिएको छ । उक्त सोलारले प्रशासनका कामबाहेक विरामी कक्षका कुनै पनि काममा प्रयोग नभएको देखिन्छ । मैनबत्तीको सहाराले बिरामीहरूको उपचार गर्दा कठिनाइ हुन गएपछि बिरामी तथा कुरुवाहरूलाई समेत निकै अप्ठेरो भएको छ । बिरामीलाई सुई लगाउन, सुत्केरी गराउन, अप्रेसन गर्न मैनबत्तीको उज्यालोले अप्ठेरो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘साँझपख बिरामीहरूलाई उपचार गर्न मैनवत्ती बाल्नु पर्ने अवस्था छ,’ जयपृथ्वी नगर पालिका ७ का पुरनबहादुर बमले भने, ‘जिल्ला अस्पतालको वर्षेनी बजेट राज्य कोषमा फिर्ता गरिन्छ तर अस्पतालमा बत्तीको ब्यवस्था भएको छैन् ।’ उनले अस्पतालमा बत्तीको उचित ब्यवस्था नहँुदा जिल्ला अस्पताल आउने सबै बिरामीहरूलाई समस्या भएको समेत बताए । 

विद्युत अभावले जिल्ला अस्पतालमा रहेको एक्सरे, भिडियो एक्सरे, ल्याप, लगायतका कुनै उपकरणहरू सञ्चालनमा छैनन् । उपकरण ठप्प भएपछि विषेशगरी दम र निमोनियाका विरामीहरूलाई समस्या भएको छ । जिल्ला अस्पतालमा सेवा नपाउँदा बिरामीहरूले चर्को मूल्य तिर्दे सदरमुकामका निजी अस्पतालहरूमा सेवा लिनु पर्ने बाध्यता छ । 

विद्युत अभावले उपकरणहरू सञ्चालन नहुँदा कुनै पनि अप्रेशन पनि हुन सकेको छैन । व्यवस्थापन कमजोरीका कारण जिल्ला अस्पतालमा खानेपानीको समेत निकै अभाव छ । अस्पतालमा पानीको सुविधा नहँुदा बिरामीहरूले नजिकै रहेको बाउलीगाड खोलाको धमिलो पानी पिउनुपर्ने अवस्था छ । जिल्ला अस्पतालका शौचालयहरू पनि निकै दुर्गन्धित छन् ।

जिल्ला अस्पतालको ड्रेसिङ कक्ष एक वर्षयता एकजना कार्यालय सहयोगीको भरमा छ । अस्पतालमा विद्युतको समस्या देखिएपछि स्वस्थ्य विभागमा जेनेरेटर माग गरिएको छ । केही दिनभित्र समस्या समाधान हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अनुप रेग्मीले बताए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं