Date:2017/11/23 |Thursday

यथास्थितिमा चिकित्सा विधेयक अघि नबढाइयोस्

Posted on: August 20, 2017 | views: 71 |

हिमालय टाइम्स

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यथास्थितिमा चिकित्सा शिक्षा विधेयक अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित लामो समयदेखि दबाबमूलक कार्यक्रम गर्दै आएका डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै जालझेलपूर्वक अहिलेकै अवस्थामा सो विधेयक पारित गर्ने प्रयास गरे तत्काल सत्याग्रहसहित कडा विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी पनि दिएका छन् ।

‘माथेमा आयोगको प्रतिवेदनअनुसार दिएका सुझावहरू नसमेटिएसम्म चिकित्सा शिक्षा विधेयक कुनै पनि सर्तमा स्वीकार्य हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘सत्याग्रहको समयमा माथेमा प्रतिवेदनअनुसार मात्र ऐन जारी गर्ने प्रतिबद्धता जनाएका नेताहरू अहिले आएर सो विषयमा उदासीन रहेको देख्दा निकै दुःख लागेको छ ।’ महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित भएको सो विधेयक यथास्थितिमा अघि नबढाउन उनको आग्रह छ । 

केसीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएको अराजकता, गुणस्तरीयतामा आएको ह्रासलाई सुधार गर्न नसके नयाँ ऐन ल्याउनुको कुनै औचित्य नहुने विज्ञप्तिमा जनाएका छन् । ‘चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण कुनै पनि बेला संसद्को पूर्ण बैठकमा प्रस्तुत गरेर पारित गर्ने कोसिस भइरहेको जानकारी हामीले पाएका छौं’, विज्ञप्तिमा उनले भनेका छन् । 

डा केसीले यथास्थितिमा संसद्मा विधेयक प्रस्तुत भइहालेको अवस्थामा त्यसलाई परिमार्जनका लागि तत्काल समितिमा फर्काएर माथेमा प्रतिवेदनका छुटेका बुँदा तथा आफूहरूले दिएका सुझाव समेटेर मात्र पुनः संसद्मा प्रस्तुत गर्नुको विकल्प नभएको र त्यो कामको नेतृत्व सुधारको प्रतिबद्धता गर्ने नेताहरूबाट हुने आशा गरिएको जनाएका छन् । 

विज्ञप्तिमा अहिले चिकित्सा शिक्षा क्षेत्रमा रहेको अराजकता, गुणस्तरमा भएको चरम लापरबाही र सेवाको चरम केन्द्रीकरणलाई कायम राख्ने हो भने नयाँ ऐन ल्याउनुको कुनै औचित्य नभएको भन्दै उनले समयमै विचार पु¥याएर सार्थकरूपमा मात्र ऐन जारी हुनेछ भन्ने अपेक्षा गरेका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं