Date:2017/10/17 |Tuesday

भारतको स्वतन्त्रता दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Posted on: August 20, 2017 | views: 276 |

हिमालय टाइम्स

काठमाडौं । भारतको ७१ औं स्वतन्त्रता दिवसका अवसरमा शनिबार राजधानीस्थित चन्द्रागिरि नगरपालिका, बलम्बुमा मधुमेह (सुगर) रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रक्षामन्त्री भीमसेनदास प्रधान र नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि वेद प्रकाशले संयुक्तरूपमा एकदिने उक्त शिविरको उद्घाटन गरेका हुन् ।

मन्त्री प्रधानले नेपाल–भारत सम्बन्ध परापूर्वकालदेखि रहिआएको चर्चा गर्दैै यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा अझ बढी सुमधुर बनाउन मद्दत पुग्ने बताए । उनले खुला सीमा र निकट छिमेकी भएका नाताले पनि दुई देशबीच नङ र मासुजस्तै सम्बन्ध रहेको प्रस्ट पारे ।

दूतावासका प्रतिनिधि वेद प्रकाशले निकट छिमेकी मुलुकका नाताले भारतले नेपाल र नेपाली जनताका लागि यस्ता सहयोग र कार्यक्रमलाई निरन्तरता दिइरहने बताए ।

सो अवसरमा नेपाल–भारत मानव विकास एवं मैत्री संघ तथा नेपाल–भारत मैत्री जनजागरण संघका अध्यक्ष सूर्य भुसालले दुई देशबीच र जनस्तरमा कसरी सुमधुर सम्बन्ध बनाउँदै अगाडि बढ्ने भन्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए । उनले आपसमा अविश्वास र आरोप–प्रत्यारोपले कसैको पनि हित नगर्ने प्रस्ट पारे ।

उनले जनतालाई प्रत्यक्ष लाभ हुने यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आफूहरू लागिपर्ने बताए ।

कार्यक्रममा प्रोफेसर प्रेमध त्रिपाठीले मधुमेह रोगले विश्वमै प्रभाव जमाइसकेको भन्दै रोग नियन्त्रणका लागि समयमै सजग हुनुपर्ने खाँचो औंल्याए । उनले नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि उपचारमा ध्यान दिने गरेमा रोगबाट हुने क्षति न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले व्यस्त जीवनशैली र खानपानका कारण मधुमेह रोगले मानिसलाई सताउन थालेको उल्लेख गर्दै यस्ता स्वास्थ्य शिविरबाट जनताले घरदैलोमै सेवा पाउने चर्चा गरे । उनले रोग पहिचानका लागि अस्पतालमै धाउनु पर्ने अवस्थालाई यस्ता शिविरले अन्त्य गर्ने भन्दै सर्वसाधारणले यसबाट प्रत्यक्ष राहत महसुस गरेको बताए ।

गान्धी ग्लोबल फेमिली नेपालकी अध्यक्ष पार्वती भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई केही भ्रमले बिगार्न नसक्ने प्रस्ट पारिन् । उनले नेपालको आर्थिक र सामाजिक विकासमा भारतले विगतदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै यस्ता सहयोग र सद्भाव बढाउँदै लैजानुपर्ने बताइन् ।

चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष प्रकाश श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरबाट सर्वसाधारणले राहत महसुस गरेको बताए ।

नेपाल–भारत मानव विकास एवं मैत्री संघ र नेपाल–भारत मैत्री जनजागरण अभियानको संयोजनमा गान्धी ग्लोबल फेमिली नेपालले मधुमेहको निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए भने बिरामीहरूलाई इन्सुलिनबाहेक ६ महिनासम्मका लागि निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं