Date:2017/11/23 |Thursday

बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

Posted on: August 22, 2017 | views: 97 |


हिमालय टाइम्स
काठमाडौं । बाढीप्रभावित ३० जिल्लामा झाडापखाला, आउँ, डाइफाइड जस्ता सरुवा रोगबाट महामारी फैलिन नदिन स्वास्थ्य शिविर चलाउने र औषधि व्यवस्थापन गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सोमबार विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
विभागले विपद् व्यवस्थापनलाई ध्यानमा राखेर आवश्यक औषधि जिल्ला स्टोर, क्षेत्रीय मेडिकल स्टोर र केन्द्रीय स्टोरमा मौज्दात राखी सेवा सेवा पु¥याइरहेको जनाएको छ । स्थानीय तहमा थप औषधि आवश्यक परेमा क्षेत्रीय मेडिकल स्टोर र केन्द्रीय स्टोरबाट आपूर्ति व्यवस्था मिलाइएको समेत विभागको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै स्थानीय तहमा (गाउँपालिका तथा नगरपालिकाहरू) औषधि खरिद गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको जनाइएको छ । बाढीपहिरोबाट विस्थापितलाई बढी केन्द्रित गरी सरकारीतवरबाट आवश्यक ठाउँमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याउनुका साथै औषधि व्यवस्थित तरिकाले दिइरहेको जनाएको छ ।  
यसैगरी विभागले खानेपानी तथा सरसफाइ कार्यालय र अन्य संघसंस्थासँग समन्वय गरी पानी शुद्धीकरण गर्ने र ठाउँठाउँमा चर्पीलगायतको व्यवस्थापन मिलाएको जनाएको छ । यस्तै पानी शुद्धीकरण गर्न आवश्यक पर्ने क्लोरिन झोल तथा ट्याब्लेट समेत आवश्यक मात्रामा व्यवस्था मिलाएको जनाएको छ ।
शुद्ध खानेपानी तथा शुद्ध खाना खानुपर्नेजस्ता चेतनामूलक जानकारीसमेत स्वास्थ्यकर्मीमार्फत पुगिरहेको विभागले जनाएको छ । स्थानीयस्तरमा व्यक्तिगत स्वास्थ्य शिक्षा तथा माइकिङसमेत प्रभावकारीरूपमा प्रयोग गरी आम नागरिकलाई सुसूचित गरिरहेको विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले जानकारी दिए । यसैगरी सरकारले बाढीप्रभावित उक्त जिल्लामा औषधि सम्बन्धमा स्थानीय तहमा निःशुल्क कार्यक्रमका लागि १ लाख पचास हजारदेखि ५ लाखसम्म औषधि खरिदमा रकम व्यवस्थापन गरिएको समेत जनाएको छ ।
यसैगरी विभागको विज्ञप्तिमा प्रभावित जिल्लामा मृत पशुपक्षीको व्यवस्थापन गरी महामारी फैलिन नदिन सक्दो प्रयास गरिरहेको कुरा पनि उल्लेख गरिएको छ । यस्तै मृत पशुपक्षीको मासु बेचबिखन गर्नेविरुद्ध समेत गम्भीररूपमा निगरानी गरिरहेको जनाइएको छ । त्यसैगरी महामारी हुन नदिन पनि प्रभावित जिल्लामा नियमितरूपमा निगरानी भइरहेको उपमहानिर्देशक भण्डारीले जानकारी दिए ।
हालसम्म प्रभावित जिल्लामा हालसम्म ज्वरो तथा झाडापखाला जस्ता कुनै पनि महामारीका रोग नलागेको उनले बताए । बाढी पहिरोबाट हालसम्म १ सय ३५ जनाको मृत्यु भएको र हराइरहेका ३० जना अझै फेला नपरेको मन्त्रालयले जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं