Date:2017/11/23 |Thursday

अधिकांश औषधि पसल दर्ताविनै सञ्चालन

Posted on: August 25, 2017 | views: 95 |

म्याग्दी । मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरूपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध भेटिएका हुन् । सरकारी अनुमतिबिना अवैधरूपमा खुलेका फार्मेसी र क्लिनिक पसललाई कानुनी प्रक्रिया पूरा गर्न पटक पटक ताकेता गर्दासमेत अटेर गरेर बिनादर्ता अवैध रूपामा सञ्चालन भइरहेका जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय पत्रपत्रिका, रेडियो, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलगायत विभिन्न माध्यमबाट दर्ता प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिए पनि अटेर गरेको बेनी अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट रोशन न्यौपानेले बताए । डा न्यौपानेले भने, ‘प्रत्यक्ष अनुगमन गर्ने अधिकारी छैन, धेरै गुनासो आउन थालेपछि अनुमति लिन दबाब दिइरहेका छौँ ।’

जनस्वास्थ्य कार्यालयका अनुसार बेनीबजारमा १६ वटा फार्मेसी तथा औषधि पसल अनुमति लिएर सञ्चालन भइरहेका छन् भने सदरमुकामबाहिर जम्मा पाँचवटा औषधि पसलले औषधि व्यवस्था विभागबाट अनुमति लिएका छन् । सदरमुकामबाहिर तीन दर्जनभन्दा बढी औषधि पसल सञ्चालनमा छन् । ‘स्वास्थ्यकर्मीकै औषधि पसल अवैध छन्, अनुमति लिन अनुरोध गर्दासमेत बेवास्ता गर्छन’, जनस्वास्थ्यका एक कर्मचारीले बताए ।

अवैध रूपमा रहेका औषधि पसलले बिरामी भर्ना गर्ने, आफूखुसी औषधि दिने, उपकरण जडान गरेर बिरामीको उपचार गर्ने गरेको पाइएको सेवाग्राहीको गुनासो रहेको छ । दैनिक १० देखि ५० जनासम्म बिरामीको जाँच गर्ने फार्मेसी आप्mनो व्यक्तिगत नाम राखेर वर्षौंदेखि औषधि पसल चलाइरहेका छन् । बिनादर्ता सञ्चालन भएका केही फार्मेसीले गम्भीर प्रकृतिका बिरामीलाई समेत भर्ना गरेर राख्ने र निको नभएपछि रिफर गर्ने गरेको पाइएको छ । 

त्यस्तै कानुनले वर्जित गरेका तथा सम्बन्धित निकायबाट अनुमति लिएर बिक्री–वितरण गर्नुपर्ने औषधिसमेत खुलेआम बिक्री हुँदासमेत त्यसको नियमन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अवैधरूपमा सञ्चालित औषधि पसल भेटिएमा कडा कारबाही गरिने बताए । प्रजिअ पौडेलले भने, ‘धेरैपटक मसँग पनि गुनासो आएको छ । अब गुनासो आएका सबै क्षेत्रमा पुगेर अनुगमन गरिन्छ ।’


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं