Date:2017/09/19 |Tuesday

डा. गोविन्द केसीको पुनः आन्दोलन थाल्ने चेतावनी

Posted on: August 27, 2017 | views: 54 |

हिमालय टाइम्स काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै ११ पटक  आमरण अनशन बसिसकेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति  असन्तुष्ट देखिएका डाक्टर केसीले तीनबूँदे माग पूरा गर्न सरकारलाई आगामी भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

डा. केसीले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :- 


प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य शिक्षामा सुधारका लागि हामीले लामो अभिनय चलाउँदै आएकोमा केही समय अघि हाम्रो सत्याग्रको कार्यक्रम देशमा आइलागेकोा विपत्तिजन्य संकटका कारण स्थगित गरेको यहाँहरुलाई विदितै छ ।

सत्याग्रह स्थगित भए पनि सुधारको हाम्रो अभियान निरन्तर जारी रहेको कुरा हामीले बारम्बार बताउँदै आएका छौं । 


तर यसैबीच हामी सत्याग्रहकै बेला चिकित्साा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने भनेर विगतमा बारम्बार भएका सम्झौताहरु, 

माथेमा प्रतिवेदन र सरकारको बारम्बारको प्रतिबद्धताका बाबजुद त्रिवि कार्यकारी परिषदका पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्रै खाली रहेको एउटा आवासीय भवनलाई मेडिकल कलेजका रुपमा जालझेलपुर्वक सम्बन्धन दिएको खुल्न आएको छ । 

त्यस्तो अवैध धन्दामा प्रत्यक्ष संलग्न नभए पनि कुलपतिका रुपमा प्रधानमन्त्रीसमेत त्यसको जिम्मेवारीबाट उम्कन मिल्दैन ।

सो समाचार आएको यति लामो समयसम्म पनि प्रधानमन्त्री  र शिक्षामन्बी (सह–कुलपति) लगायत पदाधिकारीहरु मौन रहनुले गम्भीर आशंका उब्जाएको छ । 


अर्को्तिर परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्ने जिम्मेवारीबाट पनि संसदमा रहेका जिम्मेवार दलहरु विमुख भएको देखिन्छ ।

त्यसको उल्टो ऐन रोकेर संकीर्ण दलीय स्वार्थका लागि अवैध रुपमा सम्बन्धन दिने र दिलाउने काममा दलीय भागवण्डाबाट गएका त्रिवि पदाधिकारीहरुबाट भइरहेकाले त्यो प्रक्रियामा समेत दलहरुको संलग्नता भएको देखिन्छ ।

यो अवस्थामा अहिलेको अराजकता रोक्न हामी पुनः निर्णायक आन्दोलनमा होमिनु आवश्यक भएको छ । 


त्यसैले निम्न लिखित मागहरु पूरा गर्न यही भाद्र २१ गतेको अल्टिमेटम दिन चाहन्छु ।  सो अवधिभित्र मागहरु पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने पनि जानकारी गराउन चाहन्छु । 


मागहरु

१) काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस् । त्रिविले दुरुपयाग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस् । 

२)हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस् । 

३)  त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस् । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस् । 

डा. गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं

२०७४।५।११


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं