Date:2017/11/25 |Saturday

थप सात जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम

Posted on: August 30, 2017 | views: 69 |

हिमालय टाइम्स

काठमाडौं । सरकारले थप सात जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम लैजाने तयारी भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले यस्तो कार्यक्रम ल्याउने तयारी भइरहेको जनाएको हो । आगामी असोज महिनाभित्रमै उक्त कार्यक्रम सम्बन्धित जिल्लामा पुगिसक्ने समितिले जनाएको छ । 

समितिले असोजभित्रमा झापा, सुनसरी, सिन्धुली, सुर्खेत, बर्दिया, सोलुखुम्बु र रोल्पामा स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए । २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु भएको उक्त कार्यक्रमको तयारी मंगलबारबाट थप ७ जिल्लासँगै बिमा कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको उनले बताए । 

अहिलेसम्म स्वास्थ्य बिमाको कार्यक्रम भक्तपुर, इलाम, कैलाली, बाग्लुङ, बैतडी, कास्की, अछाम, पाल्पा, म्याग्दी, गोरखा, मकवानपुर, चितवन, तनहुँ, जाजरकोट, जुम्लालगायत जिल्लामा सञ्चालित थिए । मन्त्रालयअन्तर्गतको उक्त समितिले हालसम्म १५ वटा जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम लागू गरिसकेको जनाएको छ । अब असोजभित्रमै थप सात जिल्लामा पनि स्वास्थ्य बिमाको कार्यक्रम चाँडोभन्दा चाँडो सुरु हुने कार्यकारी निर्देशक डा. लोहनीले बताए । 

उनकाअनुसार छनोटमा परेका जिल्लामा दर्ता सहयोगीका लागि दरखास्त आहृवान गर्नका लागि तालिम दिने प्रक्रियालाई समेत अगाडि बढाइसकिएको छ । प्रत्येक परिवारका पाँचजनाले वार्षिकरूपमा जनही २ हजार ५ सय रुपैयाँ रकम तिर्नुपर्ने बिमा कार्यक्रमको नियम छ । उक्त नियमलाई अनिवार्यरूपमा पालना गर्नुपर्ने समितिले जनाएको छ । 

सञ्चालित स्वास्थ्य बिमाबाट उठाइएको सो रकमबापत सरकारले  वार्षिकरूपमा ५० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था मिलाइएको जनाएको छ । परिवारमा पाँचजना भन्दा बढी सदस्य भए प्रतिव्यक्ति थप ४ सय २५ रुपैयाँ तिर्नुका साथै थप १० हजारका दरले उपचार खर्च बढ्दै जाने व्यवस्था गरेको लोहनीले जानकारी दिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं