Date:2017/09/19 |Tuesday

चितवनमा मात्र ३०९ जनामा स्वाइनफ्लु भेटियो

Posted on: September 01, 2017 | views: 56 |

रत्ननगर  । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो ।
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले भन्नुभयो, “उक्त परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो ।” संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् ।

बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउँछन् । उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए ।

चारजनामा डेंगु
भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको बताए ।
कामको सिलसिलामा भारत पुगेका एक व्यक्ति ज्वरो आएर फर्किएकामा एक व्यक्तिको परीक्षणमा पनि डेंगु देखिएको हो ।
भारतको मुम्बईमा ज्वरो आएर फर्किएका उनको परीक्षणमा डेंगु रोग पुष्टि भएको केसीले जानकारी दिए । भदौ ११ गते नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा उनमा डेंगु पुष्टि भएको केसीको भनाइ छ ।

साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको केसीले आज जानकारी दिए ।

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् ।

यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोग समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नवलपरासी घर भई चितवनमा उपचार गराइएका एक व्यक्तिमा उक्त रोग देखिएको हो । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं