Date:2017/12/15 |Friday

सरकारी फार्मेसी नै औषधि किन्न बाहिर पठाउँछन्

Posted on: September 05, 2017 | views: 145 | पार्वती थापामगर

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीले नै औषधि किन्न बाहिर पठाउँदा आफूहरू मारमा परेको सेवाग्राहीको गुनासो छ । सरकारी फार्मेसीले औषधि किन्न जाँदा औषधि नभएको भन्दै निजी फार्मेसीतिर पठाउने गरेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार सरकारी अस्पतालका फार्मेसीमा सबैथरी औषधि नपाउँदा सास्ती खेप्नु परेको हो ।

चिकित्सकले जाँचपछि एकैपटकमा धेरै थरीका औषधि लेखिदिने गरेको तनहुँकी सेवाग्राही गीता खनालले बताइन् । उनले चिकित्सकले लेखिदिएका औषधिमध्ये सरकारी फार्मेसीमा एक÷दुई थरीभन्दा बढी नपाइने बताइन् । उनका अनुसार बाँकी सबै औषधि किन्न निजी फार्मेसीतिर पठाउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ)मा ढाडको समस्याले आएकी उनलाई रोग पहिचान हुनै नपाई पाँच÷छ थरीका औषधि लेखिदिएको गुनासो गरिन् । ‘रिपोर्ट आएदेखि डाक्टरले बोलाएको समयअनुसार धाइरहेकी छु । अहिलेसम्म रोग पनि पहिचान भएको छैन’, उनले भनिन् ‘औषधिले ठीक गर्छ भनेकाले १५ दिनदेखि औषधि सेवन गरिरहेकी छु । निजी फार्मेसीको औषधि किन्दाकिन्दै कंगाल होलाजस्तो लाग्न थालेको छ ।’ 

टिचिङमै भेटिएका धादिङका मोहन विष्ट पनि औषधि किन्न निजी फार्मेसीमा धाउँदाधाउँदा थकित भएको बताउँछन् । पेटको समस्याले उपचारका लागि टिचिङ भर्ना भएका मोहनले दैनिक चिकित्सक आउनासाथ औषधि लेखिदिने गरेको बताए । ‘चिकित्सकले लेखिदिएका अधिकांश औषधि निजी फार्मेसीमा मात्रै पाइन्छ । विविध छुटका साथ उपचार गरे पनि सरकारी अस्पतालको फार्मेसीमा भने औषधि भेटिदैन’, उनले भने, ‘यस्तो सास्ती सहेर बस्नुभन्दा अब त उपचारका लागि पनि निजीमै जानुपर्ला जस्तो लाग्न थालेको छ ।’ धेरै लामो समय कुरेर जाँच गराइए पनि औषधि किन्न निजीमै जानुपर्दा आफूहरूलाई बढी सास्ती हुने गरेको उनी बताउँछन् । 

सिन्धुपाल्चोककी जानुका भट्टराई पनि पाठेघरको मुखको समस्याले वीर अस्पताल जँचाउन पुगिन् । अप्रेसन नै नगरी औषधि सेवनले घाउ निको हुन्छ भन्ने सल्लाह चिकित्सकबाट पाएपछि उनले निजी अस्पतालबाटै महंगोमा औषधि किन्दै नियमित सेवन गरेको बताइन् । उनले भनिन्, ‘तर अब अप्रेसन गर्नुपर्छ भनेको छ । अप्रेसन गर्ने रुपैयाँ जति सबै औषधिमै सकियो ।’

४२ वर्षीया जानुकाले गाउँबाट उपचारका लागि राजधानी छिर्दा वीर अस्पतालमा सबै उपचार निःशुल्क हुन्छ भन्ने सुनेर गएकी थिइन् । तर उपचार निःशुल्क भने पनि औषधि खरिद गर्दा नै ‘ढाड खुस्किने’ उनको भोगाइ छ । छिमेकीले वीरमा उपचारदेखि औषधिसमेत विशेष छुटका साथ पाइन्छ भनेको सुनेर आएकी उनी अहिले अधिकांश औषधि निजी फार्मेसीमा गएर खरिद गर्नुपरेको बताउँछिन् ।

वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले सबै थरीका औषधि एकैपटक उपलब्ध गराउन नसक्ने बताए । यसका लागि पहल भइरहेकाले केही समय सेवाग्राहीले सास्ती नै खेप्नुपर्ने उनको भनाइ छ । टेन्डर प्रक्रिया झन्झटिलो भएर औषधि व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए ।

केही समयअघि वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालवरिपरिका निजी फार्मेसी नहटाएसम्म अस्पतालको आफ्नै सरकारी अस्पतालका फार्मेसीमा औषधि नपाइने समस्या यथावत रहिरहने बताएका थिए । उनले नयाँ नीति नै ल्याएर अस्पताल आसपासका औषधि पसल हटाउन जरुरी रहेको जनाएका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं