Date:2017/11/23 |Thursday

नियतिले देखाएको जीवनको फरक बाटो

Posted on: September 09, 2017 | views: 228 | रमा लुइँटेल

काठमाडौं । कुराकानीका लागि गत बुधबार काठमाडौंको सुकेधारा पुग्दा नातिसारा राई हतारमा थिइन् । उनी बिहीबार बिहानै खोटाङ जाने तयारीमा थिइन् । उता गाउँमा र आजकाल यता काठमाडौंमा पनि उनलाई धेरैले गोमा भनेर चिन्छन् । उनी एक साता उतै गाउँमै बस्नेछिन् । एकसाता गाउँमा के गर्छिन् त गोमा ? 

‘त्यहाँ एचआईभी संक्रमित महिला दिदीबहिनीको समूह छ, ती दिदीबहीनीसँग छलफल गर्नुछ,’ गोमाले खोटाङ यात्राको चुरो कुरो बताइन् । 

गोमा त्यो कठोर विगततिर फर्किन् । उनी १२ वर्षकी थिइन् । परिवारमा अभाव थियो । रातदिन काम गर्दा पनि खेतीले ६ महिनाभन्दा धेरै खान पुग्दैन थियो । बाँकी ६ महिना अर्काकै मजदुरी गर्नुपथ्र्यो । गोमालाई बाबुको अनुहारसमेत याद छैन । उनले आमाको दुःख देखिन् । यसले उनको मन कुडिन्थ्यो, भक्कानो फुट्थ्यो । के गरौं र कसो गरौं हुन्थ्यो । सानै उमेरमा उनले आमालाई सुख दिने सपना देखिन् । त्यो सपना पूरा गर्न गोमा घरबाट टाढा गएरै किन नहोस् श्रम गरेर पैसा कमाउन चाहन्थिन् । 

त्यही बेला थियो, उनले चिनेका केही गाउँले महिला पैसा कमाउने सपना बोकेर काठमाडौं आएका थिए । २०५० सालको एक दिन उनले तिनैमध्येकी एक दिदीका साथ लागेर काठमाडौं जाने निर्णय गरिन् । उनले आफ्नो निर्णय आमालाई सुनाइन् । बाह्र वर्षकी छोरी गाउँ छाडेर काठमाडौं जान्छु, पैसा कमाउछु भन्छे । आमाको मन मान्ने कुरै थिएन तर गोमाले अठोट गरिसकेकी थिइन् । आमाले हुँदैन भन्दाभन्दै उनी एक दिन काठमाडौं आइपुगिन् । 

गोमाका लागि काठमाडौं गाउँमा सोचेजस्तो शहर हुन सकेन । चिनेका तिनै दिदीहरूका साथ उनी गलैंचा कारखानामा पुगिन् । गलैंचा बुन्ने कामले सोचेजस्तो आम्दानी भएन । पैसा कमाएर आमाको दुःख मेटाउने सपना पूरा नहुने उनले थाहा पाइन् । आफ्नै पेट पाल्न धौ धौ भयो ।  नाम मात्रको पारिश्रमिक थियो । त्यही पनि कारखाना साहुले समयमा दिँदैन थियो । उनी विकल्पको खोजीमा लागिन् । 

पोखरा भनेको त ¤

गलैँचा कारखानाका कामदारमध्येका एक थिए झापाका मान्छे । पाकाजस्ता लाग्ने उनलाई गोमा ‘दाइ’ भन्थिन् । ती पुरुष सुखदुःखका साथीजस्तै भएका थिए । सल्लाहसुझाव दिँदा अभिभावक जस्तै लाग्थ्यो उनलाई । 

एकपटक कारखाना एक साता बन्द हुने भयो । फुर्सदको त्यो समयमा ती दाइले पोखरा घुम्न जाऊँ भने । उनी गाउँबाट काठमाडौंसम्म ल्याउने दिदीहरूलाई पोखरा जाने कुरा सुनाउन चाहन्थिन् तर ती दाइले कसैलाई नभन्नू भने । उनलाई पोखरा गएको खर्च पनि नलाग्ने भयो । पोखरा धेरै राम्रो शहर हो भन्ने पनि उनले सुनिन् । दिदीहरूलाई नसुनाई उनी ती दाइसँगै सुटुक्क पोखरा जाने भइन् । 

एक दिन बिहानै उनीहरू पोखरा जान भनेर हिँडे । बाटोमा गोमाजस्तै दुईजना थपिए । उनीहरू गोमाका साथी भए । दुई दिनपछि उनले पोखरा नभई ठाउँको नाम दिल्ली भएको थाहा पाइन् । 

‘पोखरा भनेपछि के के न होला, कस्तो न होला भन्ने भयो, खाने बस्ने पैसा पनि तिर्नु पर्दैन भनेपछि झनै खुशी भएँ,’ जीवनले बाटो बिराएको त्यो तीतो प्रसंग गोमाले सुनाइन् । 

धन्दा त त्यस्तो पो रहेछ ¤

भारतको दिल्लीमा ती ‘दाइ’ ले एउटा घरमा पु¥याए जहाँ एउटी महिला थिइन् । तीनको बोली र हाउभाउ सम्झँदा अझै पनि गोमा झसङ्ग हुन्छिन् । यति बेलासम्ममा बाटामा थपिएका दुई साथी पनि छुटिसकेका थिए । उनले आफू पोखरा होइन अन्तै आइपुगेको थाहा पाइन् । नेपाल फर्किन्छु भनेर रोई कराई गरिन् । उनको रुवाइ सुन्ने कोही थिएन । ‘तँलाई लिएर आएको मान्छेले नै तँलाई बेचिसक्यो, हामीले किन्यौं, अब तैले धन्दा गर्नुपर्छ,’ त्यो अगंकी महिलाले भनी ।

गाउँमा उनले गाईवस्तु र धान चामलको किनबेच मात्रै सुनेकी थिइन् । गलैंचा कारखानामा काम गर्दा गलैंचाको किनबेच पनि थोरै बुझेकी थिइन् । आफूलाई नै बेचेको र किनेको कुराले उनी पर्नसम्म छक्क परिन् । मलाई किन बेचेको ? मलाई तिमीले किन किनेको ? गोमाका मनमा यस्तै प्रश्न उठे । उनी छटपटाइन् । उनले घरधन्दा त गरेकी थिइन् । दिल्लीमा गर्नुपर्ने धन्दाको भने भेउ पाइनन् । 

धन्दाको कुरा आफ्नै तरिकाले बुझेपछि ‘घरवाली’ सँग कमाइ कति हुन्छ भनेर सोधिन् । पैसा कमाइने भए धन्दा गर्न तयार भइन् । उनले आमालाई पैसा पठाउनु नै थियो । उनले भनिन्, ‘मलाई त्यहाँको धन्दा भन्ने के हो थाहै भएन, घरकै काम होला भन्ने सोचेँ ।’ 

उनले दुई वर्षजति बेस्सरी काम गर्छु र पैसा कमाएर घर फर्किन्छु भन्ने अठोट गरिन् । 

अर्को दिन गोमा छाँगाबाट खसिन् जब उनले धन्दाको खास अर्थ थाहा पाइन् । उनको आँखा वरिपरि कालो बादल मडारियो । उनलाई चिटिक्क सिँगारेर एक अधवैशे पुरुषसँग बन्द कोठामा राखिएको थियो । उनले सकेसम्म प्रतिवाद गरिन् तर उम्किने कुनै उपाय भएन । उनले आइपरेको भोग्नै पर्ने भयो । 

संक्रमण बोकेर नेपाल

एक दिन पुलिसले कोठीमा छापा मा¥यो । गोमा र उनीजस्तै अरू केहीलाई पुलिसले उद्धारकर्ता संस्थामा बुझायो । तिनै संस्थाका मानिसले नेपाल फर्काइदिए । 

गोमा त्यहाँबाट नेपाल फर्कन चाहन्न थिइन् । जतिबेला उनी कोठीबाट तुरुन्तै निस्केर आफ्नै देश फर्किन चाहन्थिन् त्यति वेला उद्धार हुन सकेन । पुलिसले बाहिर निकालेपछि अब कसरी नेपाल फर्किनु र भन्ने निराशा छायो । ‘कुन जीवनको लागि नेपाल फर्किर्ने ? त्यहाँ गएर के गर्ने ?’ गोमाले त्यति वेला आफ्नो मनामा उठेको तरंगको बेलबिस्तार लगाइन् । कलिलै उमेरमा दल्लीको कोठीमा बेचिएकी गोमा साथीहरूको करबलले एक वर्षमा नेपाल फर्किन् । 

नेपाल आइपुगेको केही महिनामा उनको एचआइचभी परीक्षण भयो । उनी संक्रमित भएको रिपोर्ट आयो । यसरी नियतिले उनलाई १४ वर्षकै उमेरमा एचआईभी संक्रमित बनायो । 

जीवनको फरक बाटो

काठमाडौं आइपुगेपछि गोमा केही वर्ष गैरसरकारी संस्था सिविनको बाल गृहमा बसिन् । त्यहाँ उनले पाँच कक्षासम्म पढिन् । सीपमूलक तालिम लिइन् । थप पढाइका लागि सातदोबाटोस्थित प्रेरणा विद्यालयमा भर्ना भइन् । मानव बेचबिखनमा परेर नेपाल फर्किएका महिलाको समूहबाट गठन भएको शक्ति समूहको सम्पर्कमा पुगिन् र केही वर्ष त्यसमै काम गरिन् । 

एचआईभी भाइरसको संक्रमण हुनु जीवनको समाप्ति होइन रहेछ भन्ने उनले बुझ्दै गइन् । सभा, सम्मेलन, अन्तक्र्रिया, गोष्ठीले उनलाई जीवनप्रति सकारात्मक हुन सिकायो । रोगविरुद्ध लड्ने आत्मविश्वास र आँट दियो । संक्रमण थाहा भएको करिब छ वर्षपछि उनले औषधि खान सुरु गरिन् । ‘डाक्टरले बाँच्ने उमेर तोकेका थिए तर अहिलेसम्म काममै व्यस्त छु’ ३६ वर्ष गरेकी गोमा भन्छिन्, ‘औषधि खान थालेको १२ वर्ष भइसक्यो ।’ 

डाक्टरले दिने औषधिबाहेक उनलाई दीर्घ जीवन दिने औषधि आफ्नै कार्यक्षेत्रमा छ । ‘दिदी बहिनीका भोगाइ, उहाँहरूको उत्साह र जीवनप्रतिको विश्वास मेरा थप औषधि हुन्,’ उनले विश्वासको अभिव्यक्ति प्रकट गरिन् । उनी नियमित व्यायाम गर्छिन् । ठीक समयमा सन्तुलित खाना खान्छिन् । 

एचर्आइभी संक्रमित गोमा आफूले भोगेजस्तो पीडा अरू कसैले भोग्न नपरोस् भन्छिन् । त्यसैले गोमा अहिले आफैंले गठन गरेको संस्था ‘शक्ति मिलन समाज’ मार्फत एचआईभी संक्रमितका अधिकारका पक्षमा सक्रिय छिन् । 

अब मसँग जवाफ छ 

नेपाल सरकारले मानवबेचबिखन तथा ओसारपसार विरुद्धको एघारौं राष्ट्रिय दिवसका अवसरमा भदौ २० गते आफूलाई पुरस्कृत गर्दा उनी निकै खुशी थिइन् । यही बेला उनले विगत स्मरण गरिन्, ‘कुनै समयको सरकार यस्तो थियो, जसले दलालले दल्ली पु¥याएकालाई उद्धार गरेर फर्काउन लाग्दा यी एड्सका पोका हुन्, देश भिœयाउनु हुँदैन भन्थ्यो ।’ 

समयसँगसँगै नीति निर्माताको सोच र सरकारको कार्यनीति बद्लियो । एचआईभी संक्रमित हुनुको पीडा त छँदैछ तैपनि समय परिवर्तन भएको देखेर उनी खुशी छिन् । समाजको दृष्टिकोण भने अझै बदलिएको छैन भन्ने उनलाई लागेको छ ।

यसै पनि एचाईभी संक्रमित प्रति समाज अनुदार छ । अझ बेचबिखनमा परेर एचआईभी भएका र श्रीमान्बाट संक्रमित भएकालाई समाजले फरकफरक नजरले हेरेको उनको अनुभव छ । ‘यो समाज एउटीलाई बिचरा ¤ श्रीमान्ले सारेको रहेछ भन्दै साहनभूति देखाउँछ र अर्कीलाई बेचिएकी भनेर हेला गर्छ,’ उनले विभेदको अनौठो पाटो देखाइन् । जसरी बेचिएको भए पनि बेचिनु मान्छेको रहर होइन । एचआईभी संक्रमित हुनु उसको चाहना होइन । यो विभेदले उनलाई भित्रैदेखि पिरोलेको छ । 

बेचबिखनमा पर्नुलाई पैसा कमाउने महिलाको रहरका रूपमा समाजले गर्ने व्याख्याले उनको चित्त दुख्ने गरेको छ । समाजले गर्ने व्यङ्ग्यवाणको प्रतिवाद गर्न नसक्दा आत्तिएर हृवाँ हृवाँ रुन्थिन् । त्यतिबेलाको परिस्थिति त्यस्तै थियो, उनीसँग न ज्ञान थियो, न सिप । न त आत्मविश्वास नै ।

समयसँगै उनले एचआईभी संक्रमण, यसको उपचार र संक्रमितको जीवनबारे बुझ्ने अवसर पाइन् । उनको आत्मबल बढ्यो । उनको गुमेको आत्मविश्वास फिर्ता भयो । 

गोमासँग अहिले बलियो आत्मविश्वास छ । सबैभन्दा ठूलो त समूहको शक्ति छ । त्यही शक्तिमा टेकेर उनी अहिले एचआईभी संक्रमितमाथि ठाउँठाउँमा भएको विभेद र उनीहरूप्रतिको भ्रमात्मक दृष्टिकोणविरुद्ध अभियान लिएर हिँडेकी छन् । आफू एचआईभी संक्रमित भएको कुरा गोमाले खुलेर बताउने गरेकी छन् । उनी भन्छिन्, ‘अब मसँग जवाफ छ, त्यसैले म खुल्दैछु ।’ 

बेचिएर कोठीमा पुग्नुमा केटीकै दोष देख्ने मानिसहरूसँग उनी मुकाविला गर्न तयार छिन् । यस्तो दोषारोषण र विभेदका कारण धेरै एचआईभी संक्रमित महिला डिप्रेसनमा परेको उनी बताउँछिन् । ‘मलाई पनि एचआईभी संक्रमित हुँ भनेर खुल्न यति धेरै वर्ष लाग्यो, सबै दिदीबहिनी खुल्न सक्ने अवस्था छैन,’ गोमा भन्छिन् । खुल्न चहान खुल्न र गोप्य बस्न चाहने गोप्यै रहन पाउनुपर्ने उनको भनाइ छ । 

एचआईभी संक्रमणकारबारे समाजमा व्याप्त भ्रम हटाउन अभियानको खाँचो गोमाले देखेकी छन् । भ्रम हटाउन सके संक्रमितप्रतिको गलत दृष्टिकोणमा सुधार आउने र विभेद हट्दै जाने उनको विश्वास छ । 

यस्ता छन् समस्या 

एचआईभी संक्रमित र एड्स भएका महिलामा हिनताबोध हुने गरेको छ । हिनताबोधको मुख्य कारणमध्ये परिवारले नै नस्वीकार्नु र समाजले विभेद गर्नु नै भएको गोमाको भनाइ छ । म एचआईभी संक्रमित हुँ भनेर खुल्ने सक्ने अवस्था अझै छैन । एचआईभी संक्रमित भएकाले डेरा पाउँदैनन् । जागिरबाट हात धुनुपर्ने अवस्था छ । 

सम्पत्तिमाथिको अधिकारबाट समेत बन्चित गराएका थुप्रै उदाहरण उनीसँग छ । आफ्नो संस्थामार्फत उनले धेरैलाई मुद्दा लडेर सम्पति दिलाएकी छिन् । एचआईभी कसरी सर्छ र कसरी सर्दैन भन्ने थाहा हुँदा हुँदै पनि अघिल्तिर पर्ने बित्तिकै छि छि दुर दुर गर्ने प्रवृत्ति देखेर उनलाई उदेक लाग्छ । यस्तो प्रवृत्ति हटाउन जनचेतना जगाउनु आवश्यक छ । यसका लागि एचआईभी संक्रमितहरू, गैरसरकारी संस्थाहरू र सरकारी निकायहरू मिलेर काम गर्नुपर्ने उनको निष्कर्ष छ ।

खोटाङ यात्रा एचआईभी संक्रमितहरूको आत्मबल बढाउने र उनीहरूलाई समाजमा स्थापित गराउने अभियानको एउटा अंश हो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं