Date:2017/10/17 |Tuesday

परिवार नियोजन दिवस : साधन प्रयोग बढे पनि प्रगति असमान

Posted on: September 19, 2017 | views: 40 |

हिमालय टाइम्स

काठमाडौं । यस वर्ष ‘व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार’ भन्ने मूल नाराका साथ चौथो परिवार नियोजन दिवस मनाइएको छ । सोमबार यो दिवस मनाइएको हो ।

परिवार नियोजन सेवा गुणस्तरीय, सुरक्षित, प्रभावकारी तथा सर्वसाधारणको लागि स्वीकार्य हुने गरी सेवाको पहुँच बढाउन सघाउने उद्देश्यले परिवार नियोजन दिवस मनाउन थालिएको हो । 

परिवार नियोजनको महŒवका बारेमा थप पैरवी गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले २०७१ साल अर्थात सन् २०१४ मा हरेक वर्ष ‘सेप्टेम्बर’ १८ का दिन परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो । सोही वर्ष पहिलो दिवस मनाइएको थियो । यस वर्ष चौथो दिवसका सन्दर्भमा ग्रामीण भेगमा जनचेतनामूलक कार्यक्रम बढी प्रभावकारी बनाउँदै लैजाने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।   

स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरन रेग्मीले  नेपालमा बढ्दो जनसंख्या नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले परिवार नियोजन राष्ट्रको एजेण्डा बनेको पनि बताइन् । 

परिवार स्वास्थ्य  महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले परिवार नियोजनको कार्यक्रम देशव्यापी बनाउन आवश्यक रहेको बताए । उनले परिवार नियोजन सेवा सर्वसुलभ बनाउन सरकारी, गैरसरकारी र सामाजिक बजारीकरण क्षेत्रको साझेदारीमा सेवा प्रदान गर्नु जरुरी रहेको पनि बताए ।  

सन् २०१६ मा भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका जुनसुकै साधनको प्रयोग दर ५३ प्रतिशत र आधुनिक साधनको ४३ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर १५ देखि १९ वर्षका विवाहित किशोरीमा तुलनात्मकरूपमा धेरै कम (१५ प्रतिशत मात्र) रहेको छ । 

परिवार नियोजनका साधन प्रयोगको दर बढ्दै गए पनि प्रयोगको प्रगतिमा भने असमानता छ । धनी, शिक्षित र शहरी क्षेत्रमा बसोवास गर्ने दम्पतिमा परिवार नियोजनका साधन प्रयोगको दर बढी छ भने गरिब तथा ग्रामीण समुदायमा निकै कम छ । हिमाली र पहाडी प्रदेश तथा दुर्गमा क्षेत्रमा प्रयोगको दर कम छ । तुलनात्मकरूपमा तराई क्षेत्रमा प्रयोगको दर बढी छ । जातीयरूपमा पनि परिवार नियोजनका साधन प्रयोगमा असमानता छ । 

लामो समय काम गर्ने अस्थायी साधनको उपलब्धता कम हुनु समस्याका रूपमा रहेको छ । यसैगरी परिवार नियोजनका साधनले शरीर कमजोर बनाउँछ, रोग लाग्छ, बाँझोपन बढाउँछ, देउता रिसाउँछन् जस्ता भ्रमका कारणले पनि प्रयोगको प्रगति कम भएको अध्ययनको निष्कर्ष छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं