Date:2017/12/15 |Friday

चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा

Posted on: September 21, 2017 | views: 72 |

हिमालय टाइम्स

काठमाडौं । सरकारले ‘उपचारका क्रममा लापरबाही भएर बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने’ गरी ऐन बनाउन गरेको तयारीप्रति नेपाल चिकित्सक संघले गम्भीर असहमति जनाउँदै आन्दोलन घोषणा गरेको छ । सरकारको निर्णय नसच्याए शुक्रबारबाट मुलुकभरका स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी चिकित्सक संघले दिएको छ । 

संघले बुधबार विज्ञप्ति जारी गर्दै बनाउने भनिएको नयाँ ऐनको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ‘सरकारले उक्त निर्णय (चिसित्सकले क्षतिपूर्ति दिनुपर्ने) फिर्ता नलिए असोज ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले गरेको निर्णयको यथोचित कार्यान्वयनका लागि संघका सम्पूर्ण शाखा कार्यालय, नेपालभरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहनसमेत विज्ञप्तिमा जनाइएको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको संघले बुधबार आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघको कार्यालयमा जम्मा भएका विभिन्न विशेषज्ञ, समाजका पदाधिकारी, अस्पताल, मेडिकल तथा डेन्टल कलेजका निर्देशक तथा सञ्चालक, संघका पूर्व एवं वर्तमान पदाधिकारीले संयुक्तरूपमा सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेको संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

बैठकले सरकारी निर्णय फिर्तालगायत तीनबुँदे माग अघि सारेको छ । संघले मन्त्रिपरिषद्को बैठकले चिकित्सकलाई मात्रै लक्षित गरी ‘कानुनी राज्यको उपहास गर्दै’ गरिएको विवादास्पद निर्णय अविलम्ब सार्वजनिकरूपमा फिर्ता लिनुपर्ने माग अघि सारेको छ । 

त्यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई बिनाधरौटी जेल चलानको प्रावधान उक्त ऐन तथा नियमावलीमा थप गर्नुपर्ने र संघसँग सरकारले विगतमा गरेका सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने पनि जनाएको छ ।

पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा पीडित पक्षले आन्दोलन तथा धर्ना दिने क्रम बढेपछि सरकारले क्षतिपूर्तिको व्यवस्थासहित ऐन बनाउने तयारी गरेको हो । केही दिनअघि राजधानीको ओम अस्पतालमा नाकको अप्रेसनपछि ४० वर्षीय एक महिलाको मृत्यु भएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं