Date:2017/10/17 |Tuesday

अझै कुरा मिलेन–चिकित्सक आन्दोलन यथावत्

Posted on: September 27, 2017 | views: 47 | हीरालाल विश्वकर्मा

फाइल तस्बिर

काठमाडौं । सरकारले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा चिकित्सकले नै क्षतिपूर्ति दिने गरी कानुन बनाउने व्यवस्थाबाट पछि नहट्ने स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपाल चिकित्सक संघले उठाएको माग सम्बोधन गर्ने तर क्षतिपूिर्तसम्बन्धी कानुन बनाउने बताए । 

‘मन्त्रिपरिषद्ले असोज २ गते गरेको निर्णय फिर्ता हुँदैन,’ मन्त्री पोखरेलले भने, ‘मन्त्रिपरिषद्ले गरेको निर्णय सही ढंगले लागू गर्दै र चिकित्सकको माग पनि सम्बोधन गर्दै लगिने छ ।’ मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध चिकित्सक संघले सुरु गरेको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा शुक्रबारदेखि ठप्प छन् । 

मन्त्री पोखरेलले भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन गरी अगाडि जान सकिने बताए । ‘समाधान गर्न मन्त्रालय लागिपरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयलाई प्रधानमन्त्रीको अनुपस्थितिमा सच्याउन मिल्दैन । प्रधानमन्त्री आएपछि निष्कर्षमा पुग्छौँ ।’

उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक पनि सबै पक्षको सहमतिमा छिट्टै पारित गरिने जानकारी दिए । व्यवस्थापिका संसदको म्याद सकिन लागेकाले सबैपक्ष सहमत नभएका विषयमा छलफल गरी चाँडै सहमतिमा पुगेर विधेयक पास गर्ने पनि उनले बताए ।  

चिकित्सक संघले सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएको छ । संघका महासचिव डा लोचन कार्कीले स्वास्थ्यमन्त्रीले कानुन बनाउने निर्णयबाट पछि नहट्ने भन्नु हास्यास्पद भएको बताए । ‘उहाँ (मन्त्री)ले कुरा बुझ्नुभएनछ कि हामीले बुझाउन सकेनौँ,’ उनले हिमालय टाइम्ससँग भने, ‘एकातिर कानुन बनाएरै छाड्ने भन्नु र अर्कोतिर माग पनि सम्बोधन गर्छु भन्नु नै जायज होइन ।’

डा कार्कीले सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ संशोधन गर्ने लिखित प्रतिबद्धता जनाएमा तत्कालै आन्दोलन फिर्ता लिन आफूहरु तयार रहेको पनि बताए । चिकित्सकहरुको आन्दोलनका कारण मुलुकभर मंगलबार पनि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प छन् । विशेषगरी जिल्ला बाहिरबाट उपत्यकामा उपचारका लागि आएका बिरामी अलपत्र छन् । 

स्वास्थ्य मन्त्रालयसँग भएको पटकपटकको वार्तामा सहमति जुट्न नसकेपछि आन्दोलित चिकित्सक संघले अस्पताल बन्द यथावत राख्ने निर्णय गरेको छ । सरकारले आगामी मन्त्रिपरिषद् बैठकबाट माग सम्बोधन गर्ने बताए पनि संघले ठोस प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने महासचिव डा कार्कीले बताए । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आपराधिक गतिविधि गर्नेलाई धरौटीविना हिरासतमा लिनुपर्ने प्रावधान थप गर्न हामीले आन्दोलन जारी राखेका हौं,’ उनले भने । 

सरकारी अधिकारीहरुले चाडपर्वको मुखमा आन्दोलन नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलन फिर्ता लिन आग्रह गरेपनि संघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रस्ट पारेको छ । 

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी सरकारले कुनै निर्णय नगरेको स्पष्ट पार्दा पनि चिकित्सकहरुले आन्दोलनलाई निरन्तरता दिएकोमा सर्वत्र आलोचना भइरहेको छ । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले चिकित्सकको चरम लापरबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यावसायिक बिमा र क्षतिपूर्तिलगायतका विषय व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको स्पष्ट पारिसकेको छ । 


डा. केसी माग पूरा नभएसम्म अनसनमा

सोमबारदेखि अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन जारी रहने बताएका छन् । चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै उनले १२ औँ पटक अनसन सुरु गरेका हुन् । 

डा केसीका सहयोगी डा जीवन क्षेत्रीले केसीले उठाएका माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताएको जानकारी दिए ।

यसअघि तराईका विभिन्न जिल्लामा बाढीले निम्त्याएको विपदको कारण देखाउदै डा केसीले ११ औँ पटकको २३ दिन लामो अनशन गत साउन ३१ गते तोडेका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं