Date:2017/12/15 |Friday

डा. केसीको स्वास्थ्य कमजोर बन्दै - सरकार मौन

Posted on: October 09, 2017 | views: 55 |

हिमालय टाइम्स

काठमाडौं । सरकारले विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको भन्दै आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छन् । तेह्रौँपटक आमरण अनशनमा बसेका डा. केसीले सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

पटकपटक अनशन बसेकाले डा. केसी विगतको भन्दा बढी कमजोर भएको उनका सहयोगी डा. जीवन क्षत्रीले बताए । उनले डा. केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै धेरैपटक अनशन बसेकाले उनी पहिलेको तुलनामा निकै कमजोर देखिएको बताए । 

अनशनको चार  दिन बितिसक्दा पनि सरकारी पक्षबाट कुनै चासो नदिइएको र वार्ताको पहल नगरेको डा. क्षत्रीले बताए । शनिबारदेखि नै डा. केसीलाई रिंगटा लाग्ने, वाक्वाकी हुने, ढाँड दुख्ने र मांसपेशी बाउँडिने समस्या देखापरेको छ । डा. केसीले विगतका सम्झौता तत्काल कार्यान्वन गर्नुपर्ने माग अघि सारेका छन् । उनले माथेमा आयोगको सिफारिसविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेको आरोप लगाएका छन् । 

एघारौँ अनशननमा सरकारले चौथो दिन वार्ताका लागि समिति गठन गरेको थियो । यसपटक भने सरकार मौन बसेको छ । सरकारी अधिकारीले डा. केसीले अघि सारेका धेरै माग पूरा भइसकेको र बाँकी माग चिकित्सा शिक्षा विधेयकमातर्फत पूरा हुने क्रममा रहेको जिकिर गर्दै आएका छन् । डा. केसीले भने सरकारले सहमति कार्यान्वयन नगरेको र माफियाका हितमा ऐन बनाउन लागेको आरोप लगाउँदै आएका छन् ।   

डा. केसीले माथेमा आयोगको प्रतिवेदनअनुसार तत्काल चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र मेडिकल माफियासँगको मिलेमतोमा एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशांै लाख बढी शुल्क अवैधरूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । सरकारले तोकेबमोजिम एमबिबिएसका लागि ३८ लाख ५० हजार (काठमाडौं उपत्यकाभित्र), ४२ लाख ४५ हजार (उपत्यकाबाहिर तथा बिडिएसका लागि १९ लाख ३२ हजार ६१२ कायम गरिनुपर्ने उनको माग छ । उनले काठमाडौं विश्वविद्यालयका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्न पनि माग गरेका छन् ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं