Date:2017/12/15 |Friday

मधेसमा डेंगु आतंक रोकिएन

Posted on: October 11, 2017 | views: 63 |


गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ८८ जनामा पुगेको छ ।
अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ८८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ ।
यसरी दुई साताअघि पाँचजनाबाट शुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन् ।
यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ ।
तर अझै पनि बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा नआएर दिनानुदिन बढ्दै गएको देखेर स्थानीयलगायतका सम्पूर्ण जिल्लावासीमा चिन्ता बढ्दै गएको छ ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं