22nd April | 2018 | Sunday | 11:27:39 AM

पौने दुई करोड बालबालिका विषाक्त हावामा सास फेर्दै

  POSTED ON : Thursday, 07 December, 2017 (9:57:24 AM)

पौने दुई करोड बालबालिका विषाक्त हावामा सास फेर्दै

हिमालय टाइम्स

काठमाडौं । विश्वमा एक वर्षमुनिका १ करोड ७० लाख बालबालिकाले विषाक्त हावामा सास फेर्ने गरेको एक तथ्यांकले देखाएको छ । तीमध्ये तीन चौथाइभन्दा बढी (१ करोड २० लाख) साना बालबालिका दक्षिण एसियामा बस्ने गरेका छन् । युनिसेफद्वारा बुधबार जारी कार्यपत्रमा १ वर्षमुनिका लगभग १ करोड ७० लाख बालबालिका अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम्तीमा ६ गुणा बढी वायु प्रदूषण भएका स्थानमा बसोबास गर्ने र त्यसका कारण उनीहरूले विषाक्त हावामा सास फेर्नुपरेको जनाइएको छ ।

विषाक्त हावाले साना बालबालिकाको मस्तिष्क विकासमा पार्न सक्ने नकारात्मक असरसम्बन्धी प्रमाणलाई मध्यनजर गर्दै वायु प्रदूषणलाई न्यूनीकरण गर्न युनिसेफले आहृवानसमेत गरेको छ । विषाक्त हावाका कारण बालबालिकाहरूको मस्तिष्क विकासलाई जोखिममा पारेको जनाइएको छ । युनिसेफले ‘हावामा खतरा ः साना बालबालिकाको मस्तिष्क विकासमा वायु प्रदूषणको असर’ नामक नारा कार्यपत्रमा उल्लेख गरेको छ ।

सूक्ष्म कणजन्य प्रदूषणयुक्त वायुमा सास फेर्नाले मस्तिष्कका तन्तुहरूमा नोक्सान र बुद्धि विकासमा बाधा पु¥याउनुका साथै यसले जीवनपर्यन्त नकारात्मक असर र कठिनाइहरू पनि निम्त्याउने जनाइएको छ । प्रदूषणले बालबालिकाको विकासोन्मुख फोक्सोमा खतरा पु¥याउने मात्र नभई उनीहरूको बन्दै गरेको मस्तिष्कलाई पनि स्थायीरूपमा क्षति पु¥याउने युनिसेफकी कार्यकारी निर्देशक एन्थनी लेकले जारी गरेको कार्यपत्रमा उल्लेख छ । कार्यपत्रमा भनिएको छ, ‘जसका कारण बालबालिकाको भविष्यमा नै क्षति पुग्दछ । वायु प्रदूषणबाट बालबालिकालाई जोगाउँदा उनीहरूलाई मात्र नभई समाजलाई नै फाइदा पुग्दछ । जसको सकारात्मक परिणाम स्वास्थ्य सेवामा खर्च घट्नु, उत्पादकत्व बढ्नु र सबैका लागि सफा र स्वस्थ वातावरण बन्नुबाट प्रस्ट हुन्छ ।’ 

भूउपग्रहबाट प्राप्त तस्वीरहरूमा देखिएअनुसार अति प्रभावित क्षेत्रहरूमध्ये दक्षिण एसियामा बालबालिकाको अनुपात सबैभन्दा ठूलो रहेको छ । जहाँ १ करोड २२ लाख शिशुहरू विश्व स्वास्थ्य संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रदूषणको सीमाभन्दा ६ गुणा बढी प्रदूषण भएको ठाउँमा बसोबास गर्ने पाइएको छ । पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा ४ करोड ३० लाख शिशुहरू तोकिएको सीमाभन्दा ६ गुणा बढी प्रदूषण भएको ठाउँमा बसोबास गरेको तथ्यांकमा उल्लेख छ । उक्त कार्यपत्रमा जनाइएअनुसार जीवनको संवेदनशील पहिलो १ हजार दिनमा हुने पोषण र उत्प्रेरणाको अभाव तथा हिंसाको प्रभावले झैं वायु प्रदूषणले पनि मस्तिष्कको विकासमा असर पार्ने भएकाले प्रारम्भिक बाल विकासमा प्रभाव पार्नेतर्फ सचेत हुन भनिएको छ । 

विषाक्त प्रदूषणका अति सूक्ष्म कणहरू रगतको प्रवाहमा मिसिन गई मस्तिष्कसम्म पुग्ने र रगत मस्तिष्कको बाधकमा क्षति पु¥याउँदै स्नायु सुन्निन सक्ने, अतिसूक्ष्म म्याग्नेटाइटजस्ता प्रदूषणका केही कणहरू नाकमा अवस्थित स्नायु तथा आहारनलीबाट शरीरमा प्रवेश गर्ने र चुम्बकीय शक्तिका कारण स्नायु तन्त्रिकाको विकास घटाउने रोगहरू लाग्ने जनाइएको छ । 

पोलिसाइक्लिक एरोमेटिक हाइड्रो कार्बनजस्ता प्रदूषणका अन्य प्रकारका कणहरूले बालबालिकाको सिकाइ र विकासको पूर्वाधार मानिने मस्तिष्कको एक अर्कासँग संवाद गर्ने तन्त्रिकाहरू भएको क्षेत्रमा क्षति पु¥याउने पनि जनाइएको छ । उक्त कार्यपत्रमा वायु प्रदूषणका कारण बालबालिकामा बढ्दै गरेको दिमागमा पर्ने नकारात्मक प्रभावहरूलाई कम गर्न यथाशीघ्र भरपर्दो कदम चाल्न आग्रह गरिएको छ । कार्यपत्रले बालबालिकालाई घरमा चुरोट, सुर्तीजन्य पदार्थबाट निस्किने र खाना पकाउन वा न्यानो बनाउनका लागि बालिएका आगो आदिबाट निस्किने विषाक्त धुँवाबाट टाढा राख्नका लागि ज्वलनशील खनिज पदार्थको सट्टा सफा र नवीकरणीय ऊर्जामा लगानी वृद्धि गरी वायु प्रदूषण घटाउने, सार्वजनिक यातायातमा सर्वसुलभ पहुँच बढाउने, शहरी क्षेत्रमा हरियाली बढाउने, विषाक्त रसायनहरू नष्ट गर्नका लागि खुलारूपमा जलाउने प्रवृत्ति रोक्नका लागि फोहोर व्यवस्थापनका उचित विकल्पहरूको विकास गर्नुपर्ने औंल्याइएको छ । 

त्यस्तै बालबालिकालाई प्रदूषकहरूबाट टाढा राख्नका लागि वायु प्रदूषणको मात्रा कम हुने समयमा मात्र बालबालिकाको यात्रा तय गर्ने परिपाटी बसाउने, विषम परिस्थितिका लागि उचित किसिमको हावा फिल्टर गर्ने मास्क प्रदान गर्ने, उचित किसिमको शहरी योजना बनाउने, बालबालिकाको प्रतिरोध क्षमतामा सुधार ल्याउनका लागि उनीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउने, वायु प्रदूषणसम्बन्धी ज्ञान र अनुगमनमा सुधार ल्याउन सुझाइएको छ ।