16th October | 2018 | Tuesday | 7:20:39 AM

सुत्केरीको सहारा बन्दै प्रसुतीगृह

राजेन्द्रबहादुर सिंह   POSTED ON : Friday, 15 December, 2017 (5:12:00 PM)

सुत्केरीको सहारा बन्दै प्रसुतीगृह

बझाङ । बझाङका दुर्गम ग्रामीण भेगका महिलाहरुले घरमै सुत्केरी हुदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई यतिखेर यहाँका प्रसुती गृहहरुले टारेको छ । सुत्केरी ब्यथा लागेका महिलालाई जिल्ला स्वास्थ्य कार्यालयसम्म पुर्याउन दुई दिन लाग्ने दुर्गम गाउँमा समेत आजकाल प्रसुती सेवा प्रदान गरिएपछि प्रसुती गृह सुत्केरीहरुको सहारा बन्दै गएको हो । गाउँगाउँमा प्रसुती गृह निर्माण भएपछि आजकाल दुर्गम गाउँका सुत्केरी महिलाहरु सुरक्षित प्रसुती सेवा लिन सफल भएकी छन् । गाउँमै सुरक्षित प्रसुती सेवा प्रदान गरिएपछि मातृ मृत्यदर पनि घटेको दुर्गमका स्थानीयहरु बताँउछन् । विगतमा दुर्गम बस्तीका सुत्केरीहरु जिल्ला स्वास्थ्यकार्यालय लैजादै गर्दा कतिपयको बाटोमै मृत्यु भएको थियो । 

“मैले पहिलो बच्चा घरमै जन्माएकी थिए , किनकी मेरो घरबाट देउलेख प्राथमिक स्वास्थ्य केन्द निकै टाढा को दुरिमा रहेको छ । घरबाट करिव २ घण्टा पैदल हिडेर मात्र देउलेख स्वस्थ्य केन्द्र, प्रसुती गृहमा पुगिन्थ्यो । म गर्भवती हुदा स्वास्थ्य संस्था सम्म मलाई बोकेर लैजान कुनै साधन पनि त थिएन । गर्भ अवस्थामा कम्तिमा ४ पटक गर्भ जाँच गराउनु पर्छ भन्ने पनि मलाई थाहा थिएन । त्यसैले म पहिलो पटक गर्भवती हुदा मैले गर्भ जाँच समेत गराएकी थिइन् । शुक्रवार देउलेख प्राथमिक स्वास्थ्यकेन्द्रमा प्रसुती सेवा लिन पुगेकी बित्थडचिर गाउँपालिका ६ उर्सैलकी ३५ वर्षीया अमरादेवी वि.क ले विगतलाई सम्झदै दुखेसो पोखिन्” । अमरादेवी जस्तै अन्य महिलाहरुले विगतमा सुत्केरीहुदाको पिडा सुनाउने गर्थिन् । तर आजकाल घरमै सुत्केरी हुने महिलाको संख्यामा कमि देखिएको छ भने सुत्केरी महिला ब्यथा लाग्ने वितिकै प्रसुती गृह नै रोज्ने गर्दछन् । 

जिल्लामा रहेका सवै प्रसुती गृहमा दक्ष स्वास्थ्यकर्मीको ब्यवस्था तथा गर्भवतीलाई बोक्न सवै वडाहरुमा स्टेक्चरको ब्यबस्था मिलाएपछि यतिखेर सुत्केरीहरुलाई प्रसुती गृहसम्म ल्याउन सजिलो भएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.अनुप रेग्मीले बताँए । उनले मातृ स्वास्थ्य सुदृढ गर्नकालागी सरकारले प्रसुती गृह सुधारमा सहयोग गर्दै आएपछि हाल गुणस्तरीय प्रस्सुती सेवा प्रदान गर्न सजिलो भएको समेत जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको होम डेलिभरी फ्रि जिल्ला बनाउने उद्देश्य अनुरुप यतिखेर बझाङमा पनि ४७ वटा स्वास्थ्य संस्था मार्फत्त प्रसुती सेवा प्रदान गरिदै आएको छ । जिल्ला स्थित दश गाउँपालिका र दुई नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा प्रसुती गृह निर्माण भएपछि स्थानीय गर्भवती महिलाहरुलाई प्रसुती सेवा लिन सहज भएको छ । यस आर्थिक वर्ष जिल्ला स्वास्थ्य कार्यालयबाट ४६०, रायल प्राथमिक स्वास्थ्यकेन्द्र बाट २२५, देउलेख प्राथमिक स्वास्थ्यकेन्द्रबाट १७८ र खिरातडी स्वास्थ्यचौकीबाट १७३ जना सुत्केरीहरुले प्रसुती सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दिपक ऐडीले बताए । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ४७ वटा प्रसुती गृहबाट वार्षिक ३ हजार ४ सय सुत्केरी महिलाले प्रसुती सेवा लिने गरेका छन् । 


Views: 109