20th January | 2018 | Saturday | 7:07:42 AM

वृद्धाश्रममा चिकित्सक छैनन्

  POSTED ON : 2017-12-31 10:39:19

वृद्धाश्रममा चिकित्सक छैनन्

हिमालय टाइम्स 

काठमाडौं । चिसो बढेसँगै विशेषगरी वृद्धावृद्धलाई विभिन्न स्वास्थ्य समस्याले सताउँछ । आफ्नो परिवारबाट उचित हेरचाह र ख्याल गरिनुपर्ने यो समयमा कतिपय वृद्धवृद्धा भने आश्रममा बस्न बाध्य छन् । 

यसरी आश्रममा भेटिने धेरैजसो वृद्धवृद्धा अहिले चिसोको मारमा परेका छन् । दम, निमोनिया जस्ता समस्याले उनीहरूलाई सताइरहेको देखिन्छ । आश्रममा उनीहरूलाई स्वास्थ्य सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ ।

समाजकल्याण केन्द्र पशुपति वृद्धाश्रममा १८६ जना वृद्धवृद्धाको हेरचाहमा एकजना अहेवमात्र छन् । डाक्टरको दरबन्दी नहुँदा आश्रमका वृद्धवृद्धाको स्वास्थ्य सेवा एकजना अहेवको भरमा छ । 

आश्रमकी अहेव विमला सुवेदी चिसो मौसममा रोगले धेरै वृद्धावृद्धलाई च्याप्ने हुँदा एक्लै सेवा दिन धेरैजनालाई निकै गाह्रो हुने गरेको बताउँछिन् । हाडजोर्नी, दम, निमोनियाजस्ता समस्या भएका धेरै वृद्धवृद्धा आश्रममा छन् । अझ चिसो बढेसँगै यी समस्या हरेक वृद्धावृद्धलाई देखिन थालेको उनको भनाइ छ । आश्रममा विभिन्न संघसंस्थाले हप्ताको तीन दिन सेवा दिन चिकित्सक पठाए पनि अन्य दिन भने विमलाकै भरमा आश्रम चल्ने गरेको देखिन्छ । कतिपय वृद्धावृद्धलाई हरेक समय आकस्मिक सेवा दिनुपर्ने हुन्छ । त्यतिबेला एक्लै हुँदा गाह्रो हुने विमला बताउँछिन् ।

आश्रमका कार्यालय प्रमुख नायब सुब्बा कृष्णप्रसाद कँडेल भन्छन्, ‘तीनजना डाक्टरको माग गरेका छौँ, सरकारले माग सुनुवाइ गरे सहज हुने थियो ।’ कतिपय अवस्थामा वृद्धवृद्धा आपतकालीन स्वास्थ्य सेवा लिनसमेत बञ्चित भइरहेका छन् । रात्रिकालीन सेवाको लागि एकमात्र स्टाफ नर्स नियुक्त भए पनि यो पर्याप्त देखिँदैन । आश्रममा विभिन्न रोग भएका एक सयभन्दा बढी वृद्धवृद्धा छन् ।

सरकारी स्वामित्वमा रहेको एकमात्र ठूलो आश्रममै स्वास्थ्यकर्मीको अभाव भएको अवस्थामा अन्य आश्रमको हालत निकै कमजोर रहेको अनुमान गर्न सकिने कँडेल बताउँछन् । वृद्धावृद्धहरू दीर्घरोगी हुने र उनीहरूलाई स्वास्थ्य सेवाको जरुरत परिरहने भएकोले आवश्यकताअनुसार स्वास्थ्यकर्मी सरकारले उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । राजधानीमा रहेको सरकारीस्तरको एकमात्र ठूलो आश्रम भए पनि वृद्धावृद्धको स्वास्थ्यको हेरचाहका लागि विभिन्न संघसंस्थालाई गुहार्नु पर्ने बाध्यता छ ।