20th January | 2018 | Saturday | 7:07:03 AM

स्तन क्यान्सर पत्ता लगाउने ब्रा

  POSTED ON : 2018-01-01 07:13:30

स्तन क्यान्सर पत्ता लगाउने ब्रा

काठमाडौं । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् । उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् । तर यो ब्राको पूर्णतया परीक्षण भइसकेको छैन । 

मेक्सिकोका राष्ट्रपतिले पनि यो आविष्कारका लागि जुलियनलाई बधाई दिएका छन् ।

तीनजना साथीसँग मिलेर यो ब्रा बनाएका हुन् भने ब्राको प्रवद्र्धन गर्न तीनै जनाले एउटा कम्पनी पनि स्थापना गरेका छन् । 

उनीहरूको हिजा टेक्नोलजीले विश्वका अन्य सयौं युवा उद्यमीका कम्पनीलाई उछिनेर युवा उद्योगपतिवापतको २० हजार अमेरिकी डलरको पुरस्कार जितेका हुन् ।

क्यान्सरयुक्त ट्युमरमा रगतको प्रवाह बढ्दा छालाको तापक्रम बढ्छ । यो ब्रामा जडित बायोसेन्सरले छालाको तापक्रम नाप्छ र एउटा एपसँग सम्पर्क गर्छ । एपले गरेको विश्लेषणपछि ब्राले छालामा भएको परिवर्तनको जानकारी पहिरिने महिलालाई दिन्छ ।

तर यसबाट जानकारी पाउनका लागि एक सातामा यो ब्रा कम्तीमा पनि ६० देखि ८० घन्टा लगाउनु पर्छ । यसो गरेमात्र यसले सटीक जानकारी दिने बताइएको छ ।

गत वर्ष एउटा अन्तर्वार्तामा जुलियनले ब्रामा जडित सेन्सरले स्तनको आकार र स्थिति समान भए नभएको पनि हरहमेसा मापन गर्ने बताएका थिए ।

सुरुवाती अवस्थामै भएकाले यसको पूर्ण परीक्षण भइसकेको छैन । मेडिकल साइन्सले पनि यसलाई प्रमाणित गर्न बाँकी छ ।

मेडिकली प्रमाणित भएपछि क्यान्सर विशेषज्ञहरूले यो ब्रा प्रयोग गर्न सिफारिस गर्नेछन् ।

चिकित्सकका  अनुसार तत्काल यो ब्राले स्तन क्यान्सरका ट्युमर पत्ता लगाउने प्रमाणित भइसकेको छैन । र, कुनै वैज्ञानिक परीक्षणबिनै यो ब्रा लगाउन महिलालाई सुझाव दिन सकिँदैन । 

जुलियन १३ वर्षका हुँदा उनलाई यस्तो ब्रा विकास गर्ने विचार मनमा आएको थियो । उनकी आमाको निधन स्तन क्यान्सरबाट भएको थियो । –एजेन्सी